पोखरा ।
टीभीएस मोटर कम्पनीले नेपाली बजारलाई लक्षित गर्दै ल्याएको नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर पोखरामा सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पोखरामा आयोजना गरेको कार्यक्रममा अर्बिटर सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार स्कुटरमा ३.१ किलोवाट घण्टाको ब्याट्री जडान गरिएको छ । सहरी यात्रालाई सहज, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यसहित ल्याइएको अर्बिटरमा एकपटक पूर्ण चार्ज गर्दा १५८ किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।
अर्बिटरमा यात्रालाई सहज र सुरक्षित बनाउन यात्रा गति नियन्त्रण, उकालोमा रोकिएर पुनः अघि बढ्न सहयोग गर्ने प्रणाली, पार्किङ सहायता र ऊर्जा पुनःसञ्चय हुने ब्रेक प्रणाली जस्ता सुविधा राखिएका छन् । चालकको आवश्यकता अनुसार आर्थिक र शक्तिशाली गरी दुई प्रकारका यात्रा विधि उपलब्ध छन् ।
दैनिक प्रयोगलाई सहज बनाउन अर्बिटरमा ३४ लिटर क्षमताको सिटमुनिको सामान राख्ने ठाउँ उपलब्ध गराइएको छ । कम्पनीका अनुसार त्यहाँ दुईवटा हेल्मेटसमेत राख्न सकिन्छ ।
टीभीएस अर्बिटरमा आधुनिक सूचना तथा सञ्चार प्रविधिसमेत जोडिएको छ । मोबाइलमा रहेको सम्बन्धित अनुप्रयोगमार्फत ब्याट्रीमा रहेको चार्ज र स्कुटरले गुडेको दूरी जाँच गर्न सकिने सुविधा छ।
त्यस्तै, बाटो देखाउने सुविधा, फोन तथा सन्देशको सूचना र व्यक्तिगत जानकारी प्रदर्शन गर्ने सुविधा पनि उपलब्ध छ । सुरक्षाका लागि स्कुटर लडेको वा दुर्घटना भएको अवस्थामा सूचना दिने प्रणाली, चोरी तथा तानिएको सूचना, निश्चित भौगोलिक क्षेत्र निर्धारण, समय निर्धारण, प्रत्यक्ष स्थान पहिचान तथा स्कुटर रहेको स्थानसम्म पुग्न बाटो देखाउने सुविधा राखिएको कम्पनीले जनाएको छ ।
स्कुटर सार्वजनिक कार्यक्रममा स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले टीभीएस आइक्युबको सफलतापछि अर्बिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
उनले देशभरको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज खरिद र प्रयोगपछिको सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता रहेको बताए । उनका अनुसार नेपाली ग्राहकको आवश्यकता र चाहनालाई ध्यानमा राखेर अर्बिटर विकास गरिएको हो । यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ । लामो दूरीसम्म यात्रा गर्न सकिने क्षमता, ठूलो सामान राख्ने ठाउँ, आधुनिक प्रविधि र सुरक्षा सुविधालाई प्राथमिकता दिइएको अर्बिटरले नेपाली विद्युतीय स्कुटर बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ ।













