पोखरा ।
पोखराको लेकसाइड स्थित हल्लनचोक जाने बाटो बुलौंदीको ओरालोमा दैनिकजसो सवारी दुर्घटना हुने र जनधनको क्षति हुनेक्रम बढेसंगै त्यसलाई न्युनिकरण गर्न नयाँ प्रयोग गरिएको छ । सडक सुरक्षामा सरोकार राख्ने पत्रकार शिवराज बस्ताकोटीको अगुवाई, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर प्रसाद बराल र स्थानीय टोल विकास संस्था नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालको सहकार्यमा सवारी साधानमा प्रयोग हुने टायर उपयोग गरेर यस्तो प्रयोग गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदमसंग सल्लाह गरेरै यस्तो प्रयोग गरिएको बस्ताकोटीले जानकारी दिए ।
उनका अनुसार ट्राफिक सचेतना जगाउने र रातको समयमा टल्किने संकेतसहित प्रयोग भएको टायरले दुर्घटना भइहाले पनि टाउको र सरिर सिधै डिभाइडरमा बजारिनबाट जोगाउने छ । जसका कारण घाइते नै भएपनि ज्यान भने जोगिने छ । ‘डिभाइडरमा ठोकिएर धेरैले ज्यान गुमाएका छन् । कम्तिमा रातको समयमा टल्किने संकेत देखेपछि केही भएपनि चालक सचेत हुने र दुर्घटना भइहाल्यो भनेपनि ज्यान जोगिने हाम्रो अपेक्षा हो । हेरौं, यो एउटा प्रयोग हो । यसमा पक्कैपनि सफल भइयो भने अन्यत्र पनि यसको प्रयोग गर्ने र गर्न लगाउने हो’ उनले भने ।
सामुदायिक सेवाकेन्द्र बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले मादक पदार्थ सेवन गर्ने चालकले सो क्षेत्रमा अत्याधिक दुर्घटना गराउने गरेको बताए । दुर्घटनामा हुने क्षति न्युनिकरणका लागि नयाँ प्रयोग गरिएको र यसलाई भोलिका दिनमा विस्तार गर्ने सुनाए ।
नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले बुलौंदी खोलामा धेरै दुर्घटना भइरहने र जनधनको क्षेति समेत धेरै भएकाले सचेतना कार्यक्रम गरिएको र टायर राखेपछि दुर्घटना भइहाले पनि क्षति न्युनिकरणमा टायरले मद्दत पुग्ने बताए । उनले जिरोदेखि हल्लनचोकसम्म राखिएका सोलार लाइट राति १२ बजेसम्मा निभ्ने गरेकाले सडक बत्तिका लागि महानगरलाई घच्घच्याएको उनले जानकारी दिए ।
स्थानीय सरकार दुर्घटना न्युनिकरणमा सचेत छ : वडाध्यक्ष आचार्य
पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्यले सामाजिक अगुवा, सामुदायिक सेवा केन्द्र र स्थानीय टोल विकास संस्थाले गरेको प्रयास महत्वपूर्ण रहेको बताए । उक्त क्षेत्रको डिभाइडरमा सवारी ठोकिएर ज्यान जानुका साथै डिभाइडर समेत भत्केर मर्मत गरिरहनु परेको स्मरण गर्दै उनले यो प्रयासले दुर्घटना न्युनिकरण हुने अपेक्षा प्रकट गरे ।
उनले सडक लाइट राख्न र सवारी दुर्घटना न्युनिकरणका लागि महानगरको तर्फबाट जस्तोसुकै सहयोग गर्न आफूहरु तत्पर रहेको उनले उल्लेख गरे । अध्यक्ष आचार्यले बुलौंदीको ओरालोमा उज्यालो राख्न भन्दै सोही अबसरमा तीन थान सडक बत्ति समेत हस्तान्तरण गरेका छन् ।












