काठमाडौं।
जय नेपाल पार्टी गठनको तयारीमा जुटेका नेता डा.धवलशमशेर राणाले साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले हिन्दु अधिराज्य स्थापना गर्ने मुख्य लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको स्पष्ट पारेका हुन् ।
आफ्नो अध्यक्षतामा दर्ता हुने उक्त पार्टीमा दुर्गा प्रसाईंलाई सर्वमान्य नेताको जिम्मेवारी दिइने जानकारी पनि उनले दिएका छन्। कार्यक्रममा बोल्दै राणाले आफूहरूले सक्रिय राजनीति गर्ने नभई अभिभावकीय र राष्ट्ररक्षकको भूमिका रहने राजसंस्था खोजेको स्पष्ट पारे।
सबै जाति, जनजाति र धर्मावलम्बीहरूले राजसंस्थालाई मान्दै आएको परम्परा रहेको उल्लेख गर्दै उनले राजसंस्था हटेपछि देश सङ्कटमा पुगेको दाबी गरे।
हिन्दु अधिराज्यलाई पुनःस्थापना गर्नका लागि नै नयाँ पार्टीको जन्म भएको उनको भनाइ छ।













