इजरायली राजदुत बाससंग पोखरा महानगरका मेयर आचार्यको भेटवार्ता

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नगर प्रमुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–इजरायल सम्बन्ध तथा पोखरा र इजरायलबीच साझा हितका विभिन्न विषयमा छलफल भएको पोखरा महानगरपालिकाले जानकारी दिएको छ। भेटमा पर्यटन, कृषि, प्रविधि, रोजगारी तथा प्राविधिक ज्ञान र सीप आदान–प्रदानका विषयमा विशेष छलफल भएको हो ।

सो अवसरमा नगर प्रमुख आचार्यले महानगरका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य तथा नयाँ अवसरका लागि आवश्यक समन्वय गर्न राजदूतसँग आग्रह गरे। आधुनिक कृषि प्रविधि, सीप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्न सके त्यसबाट पोखरासहित समग्र नेपाल लाभान्वित हुने उनले बताए ।

राजदूत बासले इजरायलको आधुनिक कृषि प्रणालीसम्बन्धी ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाहरूले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको बताए । उनले इजरायलको प्रविधिमैत्री र आधुनिक कृषि प्रणालीबाट नेपालले समेत लाभ लिन सक्ने धारणा व्यक्त गरे ।

भेटवार्तामा पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई थप विस्तार गर्ने तथा पोखरा र इजरायलबीच सिधा हवाई उडान सञ्चालनको सम्भावनाका विषयमा समेत चासो व्यक्त गरिएको छ । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न इजरायलसँग पर्यटन, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा सहकार्य महत्वपूर्ण हुने महानगर प्रमुख आचार्यले बताए ।

भेटवार्तामा दुवै पक्षबीच प्राविधिक तथा पारस्परिक हितका लगायतका विषयमा समेत छलफल भएको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी र महानगरको वैदेशिक विभाग समन्वय प्रमुख सुवास ढुंगाना लगायतको सहभागिता थियो ।

  • २० श्रावण २०८३, बुधबार १५:१८ प्रकाशित