निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को ब्रोड पिक हिम पहिरोमा परी दुःखद निधन भएपछि उनको फाउन्डेसनले राहत कोषको घोषणा गरेको छ ।

निम्सदाइ फाउन्डेसनले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका अन्य पर्वतीय गाइडहरूका पीडित परिवारको सहयोगार्थ विशेष राहत कोषको घोषणा गरेको फाउन्डेसनले आफ्नो सामाजिक सञ्जालमा मार्फत जानकारी दिएको हो ।

‘फाउन्डेसनले आफ्ना संस्थापक गुमाउनुपर्दाको अकल्पनीय शोकका बिच पनि ब्रोड पिक हिम पहिरोमा ज्यान गुमाएका अन्य गाइडका परिवारहरूलाई आर्थिक र मानसिक सहारा प्रदान गर्ने उद्देश्यका साथ ‘ब्रोड पिक गाइड्स फेमिली सपोर्ट फन्ड’ को स्थापना गरेको हो,’ फाउन्डेसनले इन्स्टाग्राममा पोस्ट राख्दै भनेको छ ।

‘हिमाल आरोहणमा खटिने प्रत्येक गाइड र टोलीका सदस्यहरूको पछाडि उनीहरूमाथि नै आश्रित परिवारहरू रहेका हुन्छन्, जसले यतिबेला अकल्पनीय पीडा र हृदयविदारक परिस्थितिको सामना गरिरहेका छन्,’ फाउन्डेसनले भनेको छ । आफ्ना संस्थापक निम्स पुर्जा बाहेक यो राहत अभियान पूर्ण रूपमा हिम पहिरोमा ज्यान गुमाउने अन्य गाइडका परिवारहरूमा मात्र केन्द्रित रहने फाउन्डेसनले स्पष्ट पारेको छ ।

ठुला पर्वतारोहण दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्ने आफ्नो परोपकारी मूल उद्देश्यअनुरूप नै फाउन्डेसनले यस कठिन घडीमा पीडित परिवारको साथमा उभिन विश्वभरका पर्वतारोहण प्रेमी तथा अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ ।

फाउन्डेसनले इन्स्ट्राग्राम मार्फत भनेको छ ‘निर्मल पुर्जा (निम्स दाइ)सधैँ विश्वास गर्थे कि पर्वतारोहणको वास्तविक सफलता केवल हिमालको चुचुरोमा पुग्नु मात्र होइन, बरु यात्राका क्रममा कति मानिसको जीवनलाई सकारात्मक रूपमा स्पर्श गर्न सकियो भन्नेमा निर्भर हुन्छ । फाउन्डेसनले उहाँको यही महान् सोच, मार्गदर्शन र आदर्शलाई जीवित राख्नका लागि केवल शब्दमा मात्र सीमित नरही दया, करुणा र व्यावहारिक सहयोगमार्फत उनको विरासतलाई सम्मान गर्न आग्रह गरेको छ। यस अभियानले पीडित परिवारको आर्थिक भारलाई केही हदसम्म कम गर्न र यो दुखद समयमा सिङ्गो हिमाल आरोही समुदाय उनीहरूको साथमा छ भन्ने भावनाको अनुभूति गराउन मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।’

  • २० श्रावण २०८३, बुधबार ११:५१ प्रकाशित