प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच भेटवार्ता : मधेशको अवस्थाबारे ब्रिफिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, भेटमा तराई–मधेशको पछिल्लो अवस्थाबारे ब्रिफिङ भएको बताइएको छ ।

गृहमन्त्री गुरुङ आफैं मधेश झरेर काम गरेकाले त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । तराई–मधेशमा भएको पछिल्लो घटना र स्थिति साम्य हुँदासम्मको अवस्थाबारे प्रधानमन्त्रीले गृहमन्त्रीबाट जानकारी लिएका छन् ।

आगामी दिनमा कस्तो सुरक्षा रणनीति अपनाउनुपर्ने भन्नेबारे पनि सामान्य छलफल भएको बताइएको छ ।१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएको थियो । त्यसपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै ज्यान गएको थियो ।

सुुनसरी घटनामै थप दुई जनाको उपचारको क्रममा ज्यान गएको छ । यही घटना अन्य जिल्लामा फैलिएपछि सिरहामा पनि गोली लागेर एक जनाको ज्यान गएको थियो ।

स्थिति नियन्त्रणमा लिन नेपाली सेना पनि मैदानमा खटिएको थियो । यही घटनाक्रमको पछिल्लो स्थितिबारे छलफल भएको बताइएको छ ।

  • १९ श्रावण २०८३, मंगलवार १४:२९ प्रकाशित