रोमानिया ।
पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको ज्यान गएको छ। स्थानीय समय अनुसार आइतबार बिहान करिब ३:२१ बजे चिमी सडक खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको ज्यान गएको बताइएको छ ।
बाकाउ आपत्कालीन सेवा निर्देशनालयका अनुसार, दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि दमकल, एम्बुलेन्स र सघन उपचार मोबाइल युनिटसहितको टोली घटनास्थलमा पुगेको थियो। तर, उद्धार टोली पुग्दा दुवैजनाको घटनास्थलमै ज्यान गइसकेको थियो।
आइएसयु बाकाउले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रेलको ठक्करबाट दुई व्यक्ति घाइते भएको जानकारी पाएसँगै हाम्रो टोली घटनास्थल पुगेको थियो। दुर्भाग्यवश, चिकित्सक टोलीले दुवैलाई मृत घोषित गर्यो।’
प्रारम्भिक अनुसन्धानअनुसार मृतकहरू नेपाली नागरिक भएको खुलेको छ। यद्यपि, उनीहरूको विस्तृत पहिचान र नेपालको ठेगाना भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
नेपालीहरू रेलको लिकमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्नेबारे स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।













