सुनकोशीमा खसेको कार खोज्न गोताखोर परिचालन

केन्द्रभाग मिडिया

काठमाडौं।

सिन्धुलीको सुनकोशी नदीमा खसेको कार खोज्न गोताखोर परिचालन गरिएको छ । फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा आज सोमबार दिउँसो बसले ठक्कर दिदाँ कार सुनकोशी नदीमा खसेको थियो।

कार दुर्घटनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदिमा खसेको बताइएको छ।

बेपत्ता कारको खोजीकार्यमा सो वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको थापाले बताए।

उक्त कारमा सवार सोही गाउँपालिका–५ बस्ने पूर्णबहादुर तामाङ, सोही जिल्लाको गोलन्जोर गाउँपालिका–१ बस्ने २८ वर्षीय गणेश थापा र वतन नखुलेका अर्का एक जना समेत बेपत्ता भएका छन्।

  • १८ श्रावण २०८३, सोमबार १४:५१ प्रकाशित