सप्तरीको राजविराज र बोदेबर्साइनको निषेधाज्ञा पनि पूर्ण रूपमा हटाइयो

केन्द्रभाग मिडिया

सप्तरी ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी रहेको निषेधाज्ञा सोमबार बिहान १०:०० बजेदेखि पूर्ण रूपमा हटाएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका(३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो।

आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजसहित जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्‍याली आयोजना गरिएको थियो। उक्त र्‍यालीमा विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रशासनले जिल्लामा हाल शान्ति-सुरक्षा अवस्था सामान्य रहेको जनाउँदै सबैलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेको छ। साथै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने वा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन पनि सबैसँग अनुरोध गरेको छ ।

  • १८ श्रावण २०८३, सोमबार १२:१० प्रकाशित