वासिङ्टन डीसी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति अमेरिकाले इरानमाथि गर्ने तयारीमा रहेको सैन्य आक्रमण तत्कालका लागि रद्द गरेको दाबी गरेका छन् । इरानसँग छिट्टै सम्झौता हुने सम्भावना देखिएकाले यो निर्णय गरिएको उनले बताए ।
ट्रम्पका अनुसार अमेरिका इरानविरुद्ध कारबाही गर्न पूर्ण रूपमा तयार भए पनि इरान तथा पश्चिम एसियाका अन्य देशहरूको आग्रहपछि विश्वको दीर्घकालीन हितका लागि आक्रमण स्थगित गरिएको हो ।
प्रस्तावित सम्झौतामा तुरुन्तै होर्मुज जलडमरूमध्य पुनः खोल्ने र इरानको आणविक खतरा अन्त्य गर्ने व्यवस्था समावेश हुने दाबी पनि उनले गरे । सम्झौता छिट्टै सम्पन्न हुन सके इजरायलले पनि इरानमाथिको आक्रमण रोक्ने उनले बताए ।
यसअघि बुधबार अमेरिकाले इरानभित्र विभिन्न सैन्य लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको ट्रम्पले बताएका थिए । त्यसयता अमेरिकाले इरानभित्र नयाँ आक्रमण गरेको कुनै रिपोर्ट सार्वजनिक भएको छैन ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि युद्ध सुरु गरेपछि केही घण्टामै इरानले हर्मुज जलडमरू बन्द गरेको थियो। पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि यो महत्त्वपूर्ण जलमार्ग बन्द नै रहेको इरानी पक्षको दाबी छ।
हर्मुज हुँदै युद्धअघि विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने गरेको थियो। जलमार्ग बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध उत्पन्न हुनुको साथै मूल्य बढेको छ। एजेन्सी













