काठमाडौं ।
अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नियम लागू गरिएको छ । नेपालसहित ५० देशका नागरिकका लागि यस्तो नियम लागू गरिएको हो । अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरौटी रकम २० हजार अमेरिकी डलरसम्म पुर्याएको छ । जुन नेपाली रुपैयाँ करिब ३० लाख भन्दा बढी हो ।
यो व्यवस्था विशेषगरी बी–१ (व्यापार)र बी–२ )पर्यटक) भिसामा अमेरिका जान चाहने नेपाली नागरिकका हकमा लागू हुनेछ । नयाँ नियमअनुसार न्यूनतम १० हजार डलर र अधिकतम २० हजार डलर धरौटी राख्नुपर्नेछ । भिसा अन्तर्वार्ताअघि नै उक्त रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
भिसा अस्वीकृत भएमा वा अमेरिका पुगेपछि भिसाका सबै सर्त पालना गर्दै समयमै स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिनेछ । तर भिसाको अवधि नाघेर अमेरिकामा बसेमा (ओभरस्टे) भने सो रकम जफत हुनेछ ।
अमेरिकी सरकारले भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा बस्नेहरूको संख्या घटाउन यो कदम चालेको जनाएको छ । ट्रम्प प्रशासनको समयमा परीक्षणका रूपमा सुरु गरिएको यो कार्यक्रम प्रभावकारी देखिएपछि स्थायी बनाइएको हो ।
यो नियमबाट नेपालसहित बंगलादेश र भुटानका नागरिक पनि प्रभावित भएका छन् । अमेरिकी विदेश मन्त्रालयले भविष्यमा यो सूचीमा अन्य देशहरूलाई पनि थप्न सकिने समेत उल्लेख गरेको छ ।













