बालिकालाई ग्राहकसंग रात विताउन लगाउने चार महिला पक्राउ

केन्द्रभाग मिडिया

एआई द्वारा निर्मित तस्बिर

पोखरा ।
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पोखराबाट चारजना महिनला पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१८ स्थित विभिन्न खाजाघरमा अनैतिक गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

कास्की प्रहरीका अनुसार १४ साउनको साँझ करिब ६ः३० बजे खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा अनुसन्धान तथा निगरानी गर्ने क्रममा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई विभिन्न प्रलोभन देखाई राम्रो आम्दानी हुने भन्दै होटलमा ल्याउने, ग्राहकसँग रकम लिएर जबरजस्ती रात बिताउन लगाउने तथा अनैतिक कार्यमा संलग्न गराउने गरेको तथ्य फेला परेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले एक जना बालिकाको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकी बालिकालाई आवश्यक संरक्षण तथा परामर्शको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ बस्ने ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नयाव उपरीक्षक बीरेन्द्र कुमार पासवानका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

 

  • १६ श्रावण २०८३, शनिबार ०७:४९ प्रकाशित