काठमाडौं।
पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धार अभियान जारी रहेका बेला शुक्रबार चार जनाको शव फेला परेको छ।
चार जनामध्ये दुई जनाको पहिचान भएको पाकिस्तानी सञ्चारमाध्यम डनडटकमले लेखेको छ।पहिचान खुल्नेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ रहेका छन्।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार १० सदस्यीय आरोहण टोलीमा छ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही थिए।
पाकिस्तानको अल्पाइन क्लबका महासचिव अयाज शिग्रीले ‘डन’सँग कुरा गर्दै घटनाअघि विभिन्न आरोहण टोलीले संयुक्त रूपमा चुचुरोतर्फ आरोहण सुरु गरेको बताएका छन्।
उनका अनुसार केही सम्पर्कविहीन पर्वतारोहीबाट प्राप्त जीपीएस स्थानसम्बन्धी जानकारीले हिमपहिरोले उनीहरूलाई करिब १ हजार मिटर तलतर्फ बगाएको र त्यसपछि उनीहरू फसेको संकेत गरेको थियो।













