काठमाडौं।
नेपाल चिकित्सक सङ्घले आज बुधबार पनि आन्दोलन जारी राखेको छ । आन्दोलनको कारण दोस्रो दिन आज पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सबै स्वास्थ्य सेवा बन्द रहेको छ ।
पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडमा संलग्न दोषीहरूलाई कानुनी कारबाही गर्न सरकार उदास बनेको भन्दै सङ्घले आन्दोलनलाई निरन्तरता दिएको हो।
चिकित्सकहरूको यो आन्दोलनका कारण देशभरका अस्पतालहरूमा बहिरङ्ग (ओपीडी), नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया र अन्य गैरआकस्मिक सेवाहरू पूर्ण रूपमा ठप्प बनेका छन्। यद्यपि, सर्वसाधारणको जटिल स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) सेवा भने सञ्चालनमा राखिएको छ।
आन्दोलनको प्रत्यक्ष असर राजधानी काठमाडौँका प्रमुख सरकारी अस्पतालहरूमा परेको छ। विशेष गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र वीर अस्पतालमा उपचारका लागि टाढा-टाढाबाट आएका बिरामीहरूको उल्लेख्य भीड र चाप देखिएको छ।
आन्दोलनका कारण पोखराका अस्पतालमा पनि ओपीडी सेवा बन्द हुदाँ बिरामी मर्कामा परेका छन् ।
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा संघको आह्वानमा देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा स्थगित भएको हो ।
ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट बन्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका छन् ।
यता कास्कीमा सञ्चालित सरकारी, सामुदायिक र निजी अस्पतालमा आज पनि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। ओपीडीसहितका सेवा ठप्प हुँदा अस्पताल पुगेका हजारौँ विरामी मर्कामा परेका छन् ।
नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा।सुनिल शर्माले नेपाल चिकित्सक संघको केन्द्रीय निर्देशनअनुसार गण्डकी प्रदेशका चिकित्सकहरू आन्दोलनमा सहभागी भएको जानकारी दिए ।
आन्दोलनका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , गण्डकी मेडिकल कलेज,नेपाल मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फिस्टेल अस्पताल, फेवा सिटी अस्पताल, मेट्रोसिटी अस्पताल, पद्मा श्री अस्पताल, सहारा अस्पताल, शिशुवा अस्पताल, पोखरा अस्पताल, पद्म नर्सिङ होम, मातृशिशु मितेरी अस्पताल, मेडी प्लस एण्ड ट्रमा सेन्टर लगायत अधिकांश सरकारी तथा निजी अस्पतालको ओपीडी सेवा पूर्ण रूपमा प्रभावित भएको संघको गण्डकी शाखाले जनाएको छ।
नेपाल चिकित्सक सङ्घले घटनाका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही नगरेसम्म र स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित नगरेसम्म पछि नहट्ने जनाएको छ। माग पूरा नभए आन्दोलनका कार्यक्रमलाई थप कडा र सशक्त बनाउन बाध्य हुने चेतावनीसमेत सङ्घले दिएको छ।
यता अस्पतालमा सेवा ठप्प हुँदा सास्ती भोग्न बाध्य बिरामी तथा सर्वसाधारणले भने सरकारसँग अविलम्ब समस्या समाधानको माग गरेका छन्। उपचार पाउने नागरिकको मौलिक अधिकार खोसिएको भन्दै उनीहरूले चिकित्सकहरूका जायज मागलाई तत्काल सम्बोधन गरेर अवरुद्ध स्वास्थ्य सेवा यथाशीघ्र सहज बनाउन सरकारसँग आग्रह गरेका छन्।












