पुष्पराज कोइराला,
प्राध्यापक कन्या क्यामपस पोखरा
नेपालमा मनसुन सुरु भएसँगै डेंगु संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देश फेरि डेंगुको उच्च जोखिमतर्फ उन्मुख भइरहेको स्पष्ट संकेत दिएको छ। तथ्यांकअनुसार १७औँ सातामा देशभर ४९ जना डेंगु संक्रमित भेटिएका थिए भने २९औँ सातासम्म आइपुग्दा यो संख्या बढेर ११३ पुगेको छ। हालसम्म नेपालभर डेंगुका १,५२९ जना संक्रमित पुष्टि भइसकेका छन्।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा सबैभन्दा बढी ३५ जना, गण्डकीमा ३१ जना, लुम्बिनीमा २३ जना, बागमतीमा १७ जना संक्रमित भेटिएका छन्। यद्यपि मधेश, कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा कम संख्या देखिए पनि यसको अर्थ ती प्रदेश सुरक्षित छन् भन्ने होइन। डेंगु एउटा यस्तो रोग हो, जसले मौसम, वातावरण र मानव गतिविधिअनुसार कुनै पनि बेला कुनै पनि स्थानमा तीव्र रूपमा फैलिन सक्छ।
यो अवस्था केवल स्वास्थ्य क्षेत्रको चुनौती मात्र होइन, सामाजिक, आर्थिक र वातावरणीय चुनौती पनि हो। यदि अहिले नै सबै तहबाट सचेतता अपनाइएन भने आगामी केही सातामा संक्रमितको संख्या अझ तीव्र रूपमा बढ्न सक्ने सम्भावना प्रबल देखिन्छ।
डेंगु किन बढ्दै छ?
डेंगु नयाँ रोग होइन। तर पछिल्ला केही वर्षयता नेपालमा यसको प्रकोप हरेक वर्ष बढ्दै गएको छ। यसको मुख्य कारण जलवायु परिवर्तन, अनियन्त्रित शहरीकरण, फोहोर व्यवस्थापनको कमजोरी, पानी जम्ने वातावरण र जनचेतनाको कमी हुन्।
मनसुन सुरु भएपछि वर्षाको पानी घरआँगन, छत, फूलका गमला, पुराना टायर, प्लास्टिकका बोतल, ड्रम, बाल्टिन, निर्माणाधीन भवन तथा स–साना भाँडाकुँडामा जम्ने गर्छ। यिनै स्थान एडिस एजिप्टाई (Aedes aegypti) र एडिस एल्बोपिक्टस (Aedes albopictus) नामका डेंगु सार्ने लामखुट्टेको प्रजनन केन्द्र बन्छन्।
धेरै मानिसले डेंगु सार्ने लामखुट्टे फोहोर पानीमा मात्र बस्ने ठान्छन्। वास्तवमा यो लामखुट्टे सफा र जमेको पानीमा बढी प्रजनन गर्छ। त्यसैले सफा देखिने घर वा कार्यालय पनि जोखिममुक्त हुन्छ भन्ने सोच गलत हो।
पोखरा लगायत बजार क्षेत्रमा अटो वर्कसपहरू डेंगु सार्ने लामखुट्टेका लागि मुख्य क्रिडिङ ग्राउन्ड बनिरहेका छन्; जहाँ फालिएका खुला टायर, उत्तानो पारिएका गाडीका पाटपुर्जा, बाल्टी र ड्रमहरूमा वर्षाको पानी जमेर लामखुट्टेका लार्भा फस्टाउने ओझेल परेको उत्तम बासस्थान बन्दछ। विशेष गरी मनसुन र मनसुनपछाडिका महिनाहरूमा यस्ता स्थानमा जमेको पानीले लामखुट्टेको जनसङ्ख्या ह्वात्तै बढाउँछ, जसका कारण डेंगु भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिने उच्च जोखिम सिर्जना हुन्छ।
त्यस्तै त्यस्तै घर, त्यस्तै घर, होटल, रेस्टुरेन्ट, कार्यालय आदिमा कार्यालयमा पानी राखिएका ट्यांकी वा ड्रम राम्रोसँग नढाकिएमा तिनले लामखुट्टे उत्पादन गर्ने कारखानाको काम गर्छन्। अर्कोतर्फ, बढ्दो प्लास्टिकजन्य फोहोर, निर्माण सामग्री खुला छोड्ने प्रवृत्ति र सामुदायिक सरसफाइप्रतिको बेवास्ताले पनि डेंगु फैलिन सहयोग पुर्याइरहेको छ।
तथ्यांकले के संकेत गर्छ?
१७औँ साताबाट २९औँ सातासम्म संक्रमितको संख्या दोब्बरभन्दा बढी बढ्नु सामान्य घटना होइन। यो आगामी दिनमा संक्रमण अझ व्यापक हुन सक्ने प्रारम्भिक चेतावनी हो।
विशेषगरी कोशी र गण्डकी प्रदेशमा देखिएको तीव्र वृद्धि ले त्यहाँ स्थानीय स्तरमै संक्रमण फैलिरहेको संकेत गर्छ। यस्ता तथ्यांकलाई केवल अंकका रूपमा होइन, आगामी महामारीको सम्भावित संकेतका रूपमा बुझ्न आवश्यक छ। विगतका अनुभवले पनि देखाएका छन् कि डेंगुको संक्रमण सुरुमा बिस्तारै बढ्ने र केही सातापछि एकाएक विस्फोट हुने प्रवृत्ति हुन्छ। त्यसैले अहिलेको अवस्था रोकथामका लागि सबैभन्दा उपयुक्त समय हो।
२०२२ को महामारीमा ७७ जिल्ला मा ८८ जनाको मृत्यु र ५४,००० भन्दा बढी पुष्ट केस थिए भने २०२३ मा २० जनाको मृत्यु र ५१,००० भन्दा बढी केस , २०२४ मा १५ जनाको मृत्यु ७६ जिल्लामा कुल ४१,८६५ केस २०२५ मा, ६ जनाको मृत्यु र ७६ जिल्लामा कुल ८,१०९ संक्रमितहरू दर्ता भए, जसले अघिल्ला उच्च वर्षको तुलनामा रोगको गम्भीरता र कुल संक्रमणमा उल्लेखनीय कमी देखाउँछ।
डेंगु कसरी सर्छ?
डेंगु संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सर्दैन। संक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेपछि त्यो लामखुट्टेले अर्को स्वस्थ व्यक्तिलाई टोक्दा भाइरस सर्छ।
यसकारण लामखुट्टे नियन्त्रण नै डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो।
डेंगु सार्ने एडिस लामखुट्टे प्रायः बिहान र साँझको समयमा बढी सक्रिय हुन्छ। त्यसैले राति मात्र झुल प्रयोग गर्दा पर्याप्त सुरक्षा हुँदैन। दिनको समयमा पनि लामखुट्टेबाट बच्ने उपाय अपनाउनुपर्छ।
डेंगु संक्रमित लामखुट्टेले टोकेको चारदेखि दश दिनभित्र लक्षण देखिन थाल्छन्। प्रमुख लक्षणहरूमा— अचानक उच्च ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, आँखाको पछाडि दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, शरीर अत्यधिक गल्ने, वाकवाकी लाग्ने, बान्ता हुने, छालामा रातो दाना देखिने, कमजोरी महसुस हुने आदि पर्दछन्।
धेरैजसो बिरामी उचित आराम र उपचारपछि एक हप्ताभित्र निको हुन्छन्।
तर केही बिरामीमा डेंगु गम्भीर बन्न सक्छ। विशेषगरी ज्वरो कम हुँदै जाँदा बिरामी निको हुँदैछ भन्ने भ्रम पर्न सक्छ। वास्तवमा यही समयमा जटिल अवस्था सुरु हुन सक्छ। यदि बिरामीलाई लगातार बान्ता हुने, पेट अत्यधिक दुख्ने, नाक वा गिजाबाट रगत आउने, सास फेर्न गाह्रो हुने, अत्यधिक कमजोरी हुने, बेहोसजस्तो हुने वा पिसाब कम हुने लक्षण देखिए तुरुन्त अस्पताल लैजानुपर्छ।
उपचार के हो?
डेंगुको भाइरस मार्ने कुनै विशेष औषधि अहिलेसम्म उपलब्ध छैन। यसको उपचार भनेको लक्षणअनुसार गरिने सहयोगात्मक उपचार हो। बिरामीले प्रशस्त झोल पदार्थ पिउनुपर्छ। ओआरएस, झोलिलो खाना, सुप तथा सफा पानीले शरीरमा पानीको मात्रा कायम राख्न मद्दत गर्छ।
डेंगुमा सबैभन्दा महत्त्वपूर्ण कुरा समयमै स्वास्थ्य संस्थामा पुग्नु हो। ढिलो उपचार गर्नाले जटिलता बढ्ने र मृत्युको जोखिमसमेत हुन सक्छ।
रोकथाम नै सबैभन्दा प्रभावकारी उपचार
डेंगुसँग लड्ने सबैभन्दा बलियो हतियार उपचार होइन, रोकथाम हो।
हरेक परिवारले हप्तामा कम्तीमा एक दिन आफ्नो घर, आँगन र वरिपरिको वातावरण निरीक्षण गर्ने बानी बसाल्नुपर्छ। घर वरिपरि पानी जम्न नदिने, पानी राख्ने भाँडा राम्रोसँग छोप्ने, पुराना टायर हटाउने, फूलदानीको पानी नियमित फेर्ने, छतका नाली सफा गर्ने, फोहोरको उचित व्यवस्थापन गर्ने र घर वरिपरि झाडी सफा राख्ने कार्यले हजारौं लामखुट्टेको जन्म रोक्न सक्छ। दिनको समयमा बाहिर निस्कँदा पूरा बाहुला भएका कपडा लगाउने, लामखुट्टे भगाउने क्रिम वा रिपेलेन्ट प्रयोग गर्ने तथा झ्याल–ढोकामा जाली लगाउने उपाय पनि प्रभावकारी हुन्छन्।
समाजको भूमिका किन महत्त्वपूर्ण छ?
डेंगु नियन्त्रण कुनै एक व्यक्तिको प्रयासले सम्भव हुँदैन। एउटा घर सफा भए पनि छिमेकीको घरमा पानी जमेको छ भने जोखिम उस्तै रहन्छ। यसैले समुदायको सामूहिक सहभागिता अत्यन्त आवश्यक हुन्छ।
टोल विकास संस्था, विद्यालय, महिला समूह, युवा क्लब, स्वास्थ्य स्वयंसेविका, स्थानीय सरकार, विद्यालयका शिक्षक र सञ्चारमाध्यम सबैले संयुक्त रूपमा जनचेतना फैलाउनुपर्छ।
विद्यालयमा विद्यार्थीलाई लामखुट्टेको जीवनचक्र र रोकथामबारे सिकाउन सकिन्छ। विद्यार्थी आफैं परिवर्तनका दूत बन्न सक्छन्।
स्थानीय सरकारले नियमित सरसफाइ अभियान सञ्चालन गर्ने, फोहोर व्यवस्थापन सुधार्ने, पानी जम्ने स्थान हटाउने र जोखिम भएका क्षेत्रमा निगरानी बढाउने काम गर्नुपर्छ।
सचेत नागरिक नै सुरक्षित समाज
आज देखिएको १,५२९ संक्रमित र साप्ताहिक रूपमा ४९ बाट ११३ मा पुगेको वृद्धि हाम्रो लागि गम्भीर चेतावनी हो। यो अवस्था नियन्त्रण गर्न सरकारको प्रयाससँगै जनताको सक्रिय सहभागिता अपरिहार्य छ। डेंगु विरुद्धको लडाइँ अस्पतालबाट होइन, घरको आँगनबाट सुरु हुन्छ। हरेक शनिबार वा हप्ताको कुनै एक दिनलाई “दश मिनेट सरसफाइ अभियान” का रूपमा मनाएर पानी जम्ने स्थान खोज्ने र हटाउने बानी बसाल्न सके डेंगु नियन्त्रणमा ठूलो सफलता प्राप्त गर्न सकिन्छ।
अन्ततः, स्वस्थ समाज निर्माणको जिम्मेवारी सरकारको मात्र होइन, प्रत्येक नागरिकको पनि हो। समयमै सचेत बनौं, आफ्नो घर र समुदाय सफा राखौं, लामखुट्टे बढ्ने वातावरण हटाऔं, लक्षण देखिए ढिलाइ नगरी स्वास्थ्य संस्थामा जाऔं। आजको सानो सावधानीले भोलिको ठूलो महामारी रोक्न सक्छ। डेंगुबाट बच्ने सबैभन्दा प्रभावकारी औषधि भनेकै सचेतना, सरसफाइ र सामूहिक जिम्मेवारी हो।













