सुनसरीमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, सेना परिचालन

केन्द्रभाग मिडिया

विराटनगर ।

सुनसरीको देवानगन्ज गाउँपालिका- ३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।

दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो । घाइते मध्ये २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ । ९ जना विराटनगरको विभिन्न अस्पतालमा उपचाररत छन् ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहान प्रदर्शन भएको हो ।

प्रदर्शनका क्रममा कप्तानगंज क्षेत्रको अवस्था तनावग्रस्त छ । सुनसरी सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले इनरुवा बजार क्षेत्रमा बन्द गराएर राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गको सुनसरी खण्ड अवरुद्ध छ । सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनकारीले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । जसका कारण सवारी आवागमन रोकिएको छ ।

झडप र प्रहरी कारबाहीमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । स्थिति नियन्त्रण बाहिर जान नदिन कप्तागन्ज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई घर बाहिर ननिस्कन र सभा-जुलुस नगर्न आग्रह गरेको छ ।

सेना परिचालन

स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ ।

कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो ।हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताए ।

  • ११ श्रावण २०८३, सोमबार १२:४६ प्रकाशित