सीमामा सशस्त्र प्रहरीको बोर्डर इन्टरएक्सन टिम परिचालन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सीमामा सशस्त्र प्रहरीको बोर्डर इन्टरएक्सन टिम परिचालन भएको छ ।

सीमामा सहजीकरण तथा सीमा क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको हो।

१० साउनदेखि सीमा इलाकाको मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा एक ठाउँमा १४ जना रहने गरी टोली परिचालन गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार उक्त टोली सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकाहरूमा परिचालन हुनेछन् ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले आइतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिँदै टोली परिचालनको शुभारम्भ गरेका थिए । साथै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापका बारेमा समेत उनले जानकारी लिएका छन् ।

सो टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र वृद्धवृद्धाहरूको सहजीकरण, मावन बेचविखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तु लगायतका सामग्रीहरूको निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाइका साथ काम गर्नेछ ।

सो टोलीबाट सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा नियकाहरूसँग समन्वयमा सीमा इलाकामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रण लगायतका अन्य अप्रेसनल कामकारबाहीमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

आजै अन्य नाकामा समेत सम्बन्धित बाहिनिका बाहिनिपतिहरूले टोली परिचालनको शुभारम्भ गरेका छ्न् ।

मुख्य सीमा नाकाहरूमा परिचालन हुने टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोषाक (सफारी सुट) मा रहने छन् ।

  • १० श्रावण २०८३, आईतवार १६:३४ प्रकाशित