काठमाडौं ।
अभियान्ता डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव चुडामणि पौडेल धनगढी पुगेका छन् । शुक्रबार साँझ केसीसँग टेलिफोन संवाद गरेका मन्त्री पोखरेलले आज मन्त्रालयका सचिव पौडेललाई संवादको लागि धनगढी पठाएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम छ । सरकारले वार्तामार्फत् डा. केसीको अनसनको निकास खोज्ने प्रयासलाई तीव्र बनाएको जनाएको छ ।
स्वास्थ्य अवस्था बिग्रिएपछि डा। केसीको सेती प्रादेशिक अस्पताल उपचार जारी छ । उनको आइसियुमा राखेर उपचार भइरहेको छ ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) मा गरिएका नियुक्ति खारेज गर्ने लगायत माग राखेर डा. केसी धनगढीमा अनसन बसेका छन् ।












