काठमाडौं ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक जटिल परिस्थिति उत्पन्न हुनुमा आफूहरूले पनि कहीँ न कहीँ त्रुटि गरेको स्वीकार गरेका छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिले टाउको उठाएको पनि बताए । भदौ २३ २४ को घटनापछि नेपाल सुगौली सन्धिपछिकै जटिल अवस्थामा पुगेको भन्दै त्यसका लागि बुझाई फरक फरक रहेको बताए ।
‘अब सङ्कटको समाधान कसरी गर्ने भनेर छलफल गर्नु उचित हुन्छ’, प्रचण्डले भने, ‘भदौको घटनामा नेपालको सुरक्षा निकायको निरीहता आफ्नै आँखा अगाडि देख्नुपर्यो । यो सुगौली सन्धि पछिको धेरै निरीहता हो ।’ उनले यो अवस्था कसरी आयो भनेर समुचित यथोचित र वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न नसकिने बताए ।
यसका लागि सामान्य समीक्षाले नपुग्ने पनि प्रचण्डको भनाइ छ । ‘हामीले कहीँ न कहीँ ठुलै त्रुटि गरेका छौँ । भयानक परिस्थिति सिर्जना हुने, आँखै अगाडी नेपालका धरोहर जलाइने, पार्टी कार्यालय र इतिहास जलाइने परिघटना के कारणले भयो रु’, प्रश्न गर्दै प्रचण्डले भने, ‘साम्राज्यवादले हस्तक्षेप गर्यो भनेर मात्र पुग्दैन ।’













