काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति तिखो प्रहार गर्दै सुशासनको नाममा काला कर्तुत गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा थापाले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राख्न खोजेको आरोप लगाए।
प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीप्रति टिप्पणी गर्दै थापाले भने, ‘प्रधानमन्त्रीलाई कालो चस्मा लगाउन, कालो वस्त्र लगाउन छुट छ तर, काला कर्तुत गर्न छुट छैन । यो विषय हामीले संसद्मा पनि उठाइरहेका छौँ ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र संवैधानिक निकायलाई सरकारले आफ्नो सचिवालयको छाया बनाउन खोजेको भन्दै प्रश्न गरे ।
‘के प्रधानमन्त्रीले अख्तियारलाई आफ्नो सचिवालयको छाया बनाउन खोज्नुभएको हो ? यसको उत्तर सरकारले दिनुपर्छ’ थापाले भने, ‘अख्तियार संविधानप्रति उत्तरदायी हुने हो, सरकारको दबाबमा चल्ने होइन ।’













