धनगढी ।
डाक्टर गोविन्द केसीले आज बिहीबारदेखि आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्। चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका अभियन्ता केसीले कैलालीको धनगढीमा अनसन सुरु गर्ने भएका हुन् ।
उनले दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनसन सुरु गर्ने कार्यक्रम तय गरेका छन्।
डाक्टर केसीले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको तथा पटक–पटक उठाइएका मागप्रति बेवास्ता गरेको आरोप लगाएका छन्। यसअघि सरकारले माग सम्बोधन गर्न साउन ५ गतेसम्मको समय मागे पनि कुनै ठोस पहल नभएपछि पुनः सत्याग्रहमा बस्न बाध्य भएको उनको भनाइ छ।
निर्धारित समयसीमाभित्र सरकारले कुनै सकारात्मक कदम नचालेपछि आन्दोलनको विकल्प नरहेको निष्कर्षमा डा केसी पुगेका डाक्टर अमृत जैसीले जानकारी दिए।
बुधबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत डाक्टर केसीले आफ्ना मागप्रति सरकार गम्भीर नबन्दा उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन्।
नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा शिक्षा र सुशासनको पक्षमा आफूले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले फेरि सत्याग्रहको बाटो रोज्नुपरेको बताएका छन्।
यसपटकको आन्दोलनमा उनले चिकित्सा शिक्षा क्षेत्रका नियुक्ति प्रक्रिया र नीतिगत निर्णयलाई प्रमुख मुद्दा बनाएका छन्। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा कानुन र मापदण्डविपरीत गरिएको भनिएका नियुक्तिहरू खारेज गर्नुपर्ने, सम्बन्धित ऐनका विवादित व्यवस्था संशोधन गर्नुपर्ने र नियुक्तिमा राजनीतिक प्रभाव तथा स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने उनको माग छ।













