मधेशमा राम्रो पार्टी बनाउन सकिएन भने देशले ठूलो दुर्घटना खेप्नुपर्ने खतरा छ : प्रचण्ड

केन्द्रभाग मिडिया

file photo

जनकपुरधाम ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा सुदृढ पार्टी निर्माण गर्न नसकिए देश र समग्र कम्युनिस्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने खतरा रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेला समारोहलाई सम्बोधन गर्दै उनले मधेश प्रदेश जनसंख्या र विकासको दृष्टिकोणले अत्यन्त सम्भावना र चुनौती बोकेको प्रदेश भएकाले यहाँको राजनीतिक संगठनलाई विशेष प्राथमिकतामा राखिएको बताए ।

उनले मधेशमा पार्टीलाई बलियो बनाउन सकिए आगामी दिनमा पार्टी, मधेश र समग्र मधेश आन्दोलनका लागि सशक्त राजनीतिक शक्ति निर्माण गर्न सकिने उल्लेख गरे । तर, त्यसो गर्न नसकिए देश र कम्युनिस्ट आन्दोलनले गम्भीर क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

‘मधेशमा पार्टी राम्रो बनाउन सकियो भने आउने दिनमा पार्टी, मधेश र समग्र मधेश आन्दोलनको लागि एउटा बलियो शक्ति निर्माण गर्न सकिन्छ,’ उनले भने, ‘मधेशमा राम्रो पार्टी बनाउन सकिएन भने यो देशले पनि र कम्युनिस्ट आन्दोलनले निकै ठूलो दुर्घटना खेप्नु पर्ने खतरा हामीले देखेका छौं ।’

प्रचण्डले वर्तमान अवस्थामा नेकपाले मधेशमा पार्टी निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउँदै संगठन विस्तार, जनसम्पर्क वृद्धि र कार्यकर्तालाई सक्रिय बनाउने अभियानलाई प्रभावकारी ढंगले अघि बढाइने जानकारी दिए ।

कार्यक्रममा उनले हालै निर्वाचित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् ।उनले पार्टीका नेताकार्यकर्तासँग विभिन्न चरणमा अन्तगरक्रिया गरेको र प्राप्त सुझावहरूलाई समेटेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

  • ६ श्रावण २०८३, बुधबार १५:२६ प्रकाशित