पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क रुपमा सञ्चालन भएको सटल बस सेवा बन्द नभई सःशुल्क भएको पाइएको छ । पोखरा महानगरपालिकाले गत असार मसान्तसम्म निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएकोमा १ साउन देखि पोखरा यातायात प्रालिले पोखरा महानगरकै सहमतिमा सःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको र सेवा दिइरहेको पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङले आफूहरुले एउटा सुविधा सम्पन्न विद्युतीय बस र अर्को पोखरामै उत्कृष्ठ मध्येको बस गरेर दुईवटा बस मार्फत सःशुल्क सेवा दिइरहेको बताए । ‘पोखरा विमान स्थलबाट सटल बस बन्द भएको छैन ।’ उनले भने, ‘पोखरा महानगरकै सहमतिमा हामीले सशुल्क सेवा दिइरहेका छौं ।’
अध्यक्ष गुरुङका अनुसार सःशुल्क सेवा दिदा विमान स्थलबाट पृथ्वीचोकसम्मको ५० रुपैयाँ भाडा र लेकसाइट स्थित बाराही चोकसम्मको भाडा १०० रुपैयाँ निर्धारण गरिएको छ । सेवालाई अझै प्रभावकारी बनाउन आफूहरु महानगरसंग छलफलमै रहेको अध्यष गुरुङले जानकारी दिए ।
यता पोखरा महानगरका प्रमुख धनराज आचार्यले पनि पोखरा विमानस्थलबाट ननस्टप सःशुल्क सटल बस सेवा नियमित रूपमा सञ्चालनमा रहेको जानकारी दिएका छन् । सटल बस सेवा बन्द भएको समाचार सार्वजनिक भएसंगै उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो जानकारी दिएका हुन् । उनले ‘सटल बस सेवा फिर्ता भयो’ वा ‘बन्द भयो’ भन्ने आसयका समाचार तथा सूचनाप्रति महानगरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।













