साउनभित्र नवीकरण गर्न दुग्ध उत्पादकलाई डीडीसीको ‘डेडलाइन’ : नगरे दूध नकिन्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले साउन महिनाभित्र नवीकरण गर्न दुग्ध उत्पादकलाई डेडलाइन दिएको छ ।

दूध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको डीडीसीले चालु आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने गरी दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई अनिवार्य सम्पर्क र नवीकरणका लागि साउन मसान्तसम्मको समयसीमा (डेडलाइन) तोकेको छ ।

डीडीसीले लामो समयदेखि देशभरिका किसानबाट दूध संकलन गर्दै आएको छ। डीडीसी केन्द्रीय कार्यालय लैनचौरले सूचना जारी गर्दै दूध संकलनलाई ‘प्रविधिमैत्री, अनुमानयोग्य, दिगो र थप व्यवस्थित’ बनाउने नयाँ नीति अख्तियार गरेको जनाएको छ ।

डीडीसीसँग निरन्तर दूध कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्मले साउनभित्र अनिवार्य सम्पर्क गरिसक्नुपर्ने छ ।तोकिएको समयभित्र सम्पर्कमा नआउने संस्था तथा फार्महरूको दूध खरिद गर्न संस्थान बाध्य नहुने स्पष्ट पारेको छ ।

‘२०८३ साउन मसान्तसम्म सम्पर्कमा नआउने संस्था तथा फार्मसँग दूध कारोबार गर्न संस्थान बाध्य नहुने बेहोरा समेत जानकारी गराइन्छ,’ सूचनामा छ ।

  • ३ श्रावण २०८३, आईतवार १६:०२ प्रकाशित