काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्।
प्रचण्ड जुलाई १५ मा श्रीलंका गएका थिए। भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए।
उद्घाटन सत्रमा उनले विश्व शक्ति सन्तुलनमा आएको परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनका अनुभव तथा २१औँ शताब्दीको समाजवादबारे धारणा राखेका थिए। समापन सत्रमा उनले एसियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र प्रगतिशील शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
भ्रमणका क्रममा प्रचण्डले ग्लोबल साउथ एकेडेमिक फोरमलाई अन्तर्वार्ता दिँदै नेपालको शान्ति प्रक्रिया, जनयुद्धदेखि लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा, समकालीन वामपन्थी आन्दोलनका चुनौती र समाजवादी रूपान्तरणबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए।
श्रीलंका बसाइका क्रममा उनले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल र श्रीलंकाका कम्युनिस्ट आन्दोलनका अनुभव, लोकतान्त्रिक अभ्यास, आर्थिक रूपान्तरण तथा अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिबीच सहकार्य विस्तारका विषयमा छलफल भएको जनाइएको छ।
त्यसैगरी, सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव तिल्भिन सिल्भा तथा पार्टी नेतृत्वसँगको भेटमा दुई देशका कम्युनिस्ट आन्दोलन, वर्तमान राजनीतिक अवस्था, दक्षिण एसियाली वामपन्थी सहकार्य, सुशासन, आर्थिक विकास र जनमुखी नीतिका विषयमा विचार आदानप्रदान भएको थियो। भेटमा नेपाल र श्रीलंकाका प्रगतिशील शक्तिबीच राजनीतिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा पनि सहमति भएको जनाइएको छ।
भ्रमणका क्रममा प्रचण्डले विभिन्न देशबाट सम्मेलनमा सहभागी राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा बौद्धिक व्यक्तित्वसँग पनि भेटघाट गरेका थिए।
नेकपाले श्रीलंका भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै दक्षिण एसियाली वामपन्थी शक्तिसँग राजनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको जनाएको छ।













