काठमाडौं ।
फिफा विश्वकप – २०२६ अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विजयी भएको छ ।
अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले ६ र फ्रान्सले ४ गोल गरे ।
पहिलो हाफमा ४ -० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा ४ गोल गर्यो । उता इंग्ल्यान्डले दोस्रो हाफमा थप २ गोल गरेर जारी विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको छ ।
इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरेका छन् ।
खेलको पहिलो हाफमा दुई गोल गरेका शाकाले खेलको ८७ औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
खेलको तेस्रो मिनेटमै राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
खेलको १८ औँ मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए ।
शाकाले ३७ औँ मिनेटमा इंग्ल्यान्डको लागि तेस्रो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा फ्रान्सले लगातार तीन गोल फर्काएको थियो। ४८ औँ मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे ।
फ्रान्सका ब्राडली बारकोलाले ५४ औँ मिनेटमा र कप्तान एमबाप्पेले ६६ औँ मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याए ।
खेलको ८७ औँ मिनेटमा इंग्ल्यान्डका शाकाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ५ -३ को अवस्थामा ल्याए ।
दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ४-५ को अवस्थामा ल्याएका थिए । इन्जुरी समयको अन्तिममा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाएका हुन् ।
इंग्ल्यान्डले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो। त्यसयता यसपटक नै इंग्ल्यान्डले विश्वकपमा उत्कृष्ट स्थान हासिल गरेको हो । सन् २०१८ मा इंग्ल्यान्ड चौथो भएको थियो ।
खेलको पहिलो हाफमा इंग्ल्यान्डसँग निरीह देखिएको फ्रान्सले दोस्रो हाफमा भने कडा टक्कर दिएर खेल्यो ।
जारी विश्वकपको आफ्नो अन्तिम खेलमा २ गोल गरेर फ्रान्सेली कप्तान एम्बाप्पे गोल्डेन बुटको दौडमा मेसीभन्दा अघि आएका छन् ।
उनले १० गोल गर्दा अर्जेन्टिनी कप्तान मेसीको अहिलेसम्म ८ गोल मात्रै छ ।
मेसीले अब स्पेनविरुद्ध फाइनल खेल खेल्न बाँकी छ ।













