पोखरा ।
सार्वजनिक बसमा यात्राको क्रममा पर्स चोरेको आरोपमा रौतहटका २ र झापाका १ जना गरेर तीन जना चोरी गरेको समानसहित पक्राउ परेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो ।
बिहीबार ३२ असारमा रुपा गाउँपालिका वडा नम्बर ५ देउरालीबाट पोखरा आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा सवार स्याङजा राङखोलाकी अनिता श्रेष्ठको रातो रङको लेडिज पर्स चोरी गरेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सोही बसमा सवार रौतहट चन्द्रपुर नगरपालिका १५ का ४२ वर्षीय गुरु प्रसाद बजगाई, चन्द्रनिगाहापुर ८ घर भई हाल पोखरा ९ ९ शान्तिवन बस्ने ३४ वर्षीय रविन खड्का र झापाको कनकाई नगरपालिका वडा नं. ८ घर भइ हाल पोखरा ६ खहरे बस्ने ४५ वर्षीय सूर्य भनिने टेक बहादुर भुजेल हुन् ।
उनीहरुबाट चोरी भएको उक्त पर्स भित्र रहेको सुन जस्तो देखिने पहेँलो रंगको हार १ थान (उक्त हार टुक्रा टुक्रा गरी ३ जना आरोपीले बाँडेको टुक्राहरु), चाँदीको बेरुवा औंठी २ थान बरामत भएको छ । उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।













