पोखरा ।
कोपिला नेपालको व्यवस्थापनमा सञ्चालनमा रहेको गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोली पुनर्स्थापना केन्द्रको स्थलगत अनुगमन गरेको हो।करिब ६ बर्ष अलपत्र अबस्थामा रहेर गण्डकी प्रदेश सरकारले निर्माण सम्पन्न गरेको उक्त आयोजना हाल कोपिला नेपालको व्यवस्थापनमा पोखरा महानगरको संयोजनमा सञ्चालनमा आएको हो।
अनुगमनको क्रममा स्थापना केन्द्रबाट गण्डकी प्रदेशभरीका हिंसा पिडित आश्रय विहिन महिला तथा बालबालिका लाभान्वित भएको देख्न पाँउदा खुशी लागेको प्रमुख पौडेलले बताए ।
जिल्ला समन्वय अधिकारी नवराज बरालले पछिल्लो समय सञ्चालन र व्यवस्थापनका कठिनाइ बारे जानकारी लिन अनुगमन गरिएको उल्लेख गर्दै विद्यमान समस्याको समाधान र केन्द्रको दीर्घकालीन सञ्चालनका लागि निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिसस कास्कीका शाखा अधिकृत महिला तथा बालबालिका सम्बन्धि फोकल पर्सन लक्षु शर्माले प्रदेश विकास समस्या समाधान समितिका बैठक र विभिन्न समन्वय बैठक मार्फत पुन स्थापना केन्द्र निर्माणका लागि जिससले गरेको निरन्तर प्रयत्न र आफुहरूको पहल सार्थक भएको भन्दै खुशी व्यक्त गरे ।
कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालले पौडेल नेतृत्वको टिमले पुनर्स्थापना केन्द्र सफ़ल सञ्चालनमा खेलेको भुमिका अति फलदायी भएको उल्लेख गर्दै सञ्चालन र व्यवस्थापनको समस्या ,चुनौती र भावी योजनाबारे जानकारी गराएकी थिइन्।
सिलवालले सो केन्द्रमा ७ बर्ष मुनिका ११ जना ,७ वर्षेदेखि १८ बर्षमुनिका १९ जना बालबालिका र ११ जना महिला गरि जम्मा ४८ जनाले आश्रय लिएको र गत असोज महिना देखि हाल सम्म १२० जनालाइ सेवा प्रदान गरिसकेको जानकारी दिइन् ।
केन्द्रमा मनोपरामर्श सहित अन्य सिपमुलक तालिम समेत प्रदान गर्ने गरिएको छ । तरकारी,पशुपालन तथा अन्य खेती प्रबिधी , हस्तकला सहित रुचि अनुसारको सीप बिकास र ससक्तिकरणका कार्य समेत संचालन गर्ने गरेको सिलवालको भनाइ छ।सोही परिसरमा पुरानो अर्को भवनको निर्माण कार्य पूरा गर्न सहयोगदाताको खोजी भईरहेको सिलवालको भनाइ छ।
गत २०८२ साउन १६ गते मुख्य मन्त्री सुरेन्द्र प्रसाद पाण्डेले उक्त केन्द्र उद्घाटन गरेका थिए ।













