उचित मुल्य नपाएको भन्दै किसानले गरे गोलभेँडा फ्याकेर प्रर्दशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडा (टमाटर) को मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरू आन्दोलित भएका छन् ।

छिमेकी मुलुक भारतबाट ठुलो परिमाणमा आयात भइरहेको सस्तो गोलभेँडाका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको र लागत मूल्य समेत नउठेको भन्दै किसानहरूले विरोध प्रदर्शन गरेका हुन् ।

मुख्य बजार मानिने कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडाको थोक मूल्य न्यून विन्दुमा झरेपछि किसानहरू स्वतःस्फूर्त रूपमा सडक आन्दोलनमा उत्रिएका हुन् ।

नेपाली बजारमा भारतीय टमाटरको अनियन्त्रित आयात नै नेपाली किसान मारमा पर्नुको मुख्य कारण रहेको बुझिएको छ । भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीले नेपाली उत्पादनलाई विस्थापित गरेपछि नेपाली टमाटर बारीमै कुहिने, सडकमा फाल्नुपर्ने दयनीय अवस्था सिर्जना भएको किसानहरूको भनाई छ ।

बजारमा व्यापारीहरूले नेपाली टमाटर खरिद गर्न अनिच्छा देखाउने र खरिद गरे पनि अत्यन्तै न्यून मूल्य आएपछि किसानहरू सडकमा आएका हुन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको बुधबारको दैनिक मूल्य विवरणले पनि किसानहरूले गोलभेँडाको भाउ नपाएको देखाउँछ । समितिको आधिकारिक तथ्याङ्क अनुसार आज बजारमा सानो लोकल गोलभेँडाको न्यूनतम थोक मूल्य प्रति केजी मात्र ८ रुपैयाँ तोकिएको छ भने यसको अधिकतम मूल्य १२ रुपैयाँ मात्र रहेको छ ।

समग्रमा सानो लोकल गोलभेँडाको औसत थोक मूल्य प्रति केजी ९ रुपैयाँ ५० पैसा मात्र कायम भएको छ । त्यसैगरी, टनेल प्रविधिबाट उत्पादित सानो गोलभेँडाको औसत मूल्य प्रति केजी १४ रुपैयाँ ६० पैसा र ठुलो नेपाली गोलभेँडाको औसत मूल्य प्रति केजी ३८ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसरी हेर्दा आम उपभोक्ताले खुद्रा बजारमा महँगो शुल्क तिर्नु परिरहे पनि प्रत्यक्ष उत्पादन गर्ने किसानले भने प्रति केजी १० रुपैयाँ पनि हात पार्न नसकेको देखिन्छ ।

 

  • ३१ असार २०८३, बुधबार १३:५२ प्रकाशित