सर्लाहीको अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

केन्द्रभाग मिडिया

सर्लाही ।

सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानको उजुरीका आधारमा गत बिहीबार दुवै जनालाई नियन्त्रणमा लिएको हो । उखु किसानहरूले मिलले लामो समयदेखि आफूहरूको भुक्तानी नदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार दुवै जनालाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको हो ।

‘किसानहरूको उखुको करोडौं रुपैयाँ भुक्तानी लामो समयदेखि बाँकी रहेको र त्यसबाट हजारौं किसान प्रभावित भएको भन्ने उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको डीएसपी गौतमले बताएका छन् ।

उखु किसानहरूले वर्षौंदेखि आफ्नो बक्यौता रकम नपाएको गुनासो गर्दै आएका छन्। रकम भुक्तानी नहुँदा आफूहरू आर्थिक समस्यामा परेको किसानहरूको भनाइ छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेका मिल सञ्चालकमाथि ठगीसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

  • ३० असार २०८३, मंगलवार १४:२१ प्रकाशित