मकवानपुरमा बाढीले ट्रक बगायो, चालक पौडिएर बाँचे

केन्द्रभाग मिडिया

काठमाडौं ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलाको बाढीले एउटा ट्रक बगाएको छ । चालकले पौडिएर ज्यान जोगाएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१७ स्थित शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के ट्रकलाई सोमबार बिहान ७: ४५ बजेतिर बाढीले बगाएको हो ।

खोला तर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्कामा) पानीको बहाव बढ्न गई ट्रक बगाएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर बाँचेका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ । हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको छ ।

ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

  • २९ असार २०८३, सोमबार ११:४८ प्रकाशित