गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस सांसद गच्छदार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारले गणेश नेपालीले आफ्नो शरीरमा आगो लगाउनु सामान्य आवेगको परिणाम नभई सरकारको ‘ह्विल लक’ र राजस्व असुलीको नीतिविरुद्धको विद्रोह भएको बताएकी छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद गच्छदारले सरकारलाई प्रश्न गर्दै भनिन्, ‘के यो देशलाई गरिबको चिहान बनाउन खोजिएको हो ? के यो देशमा गरिब हुनु नै सबैभन्दा ठुलो अभिशाप हो ।’

गच्छदारले सडकमा पसिना बगाएर परिवारको जीविकोपार्जन गर्ने चालकलाई आत्मदाह गर्न बाध्य बनाएको आरोप लगाउँदै सरकारले सुकुमबासी र गरिब नागरिकमाथि अन्याय गरिरहेको टिप्पणी गरिन्।

उनले सरकारको रवैयालाई लोकतान्त्रिक मूल्य विपरीत भएको बताइन् । ‘नागरिकलाई किरा–फट्याङ्ग्राजस्तो ठान्ने सरकारको अहङ्कारले लोकतन्त्रको उपहास गरिरहेको छ,’ गच्छदारले भनिन्।

सांसद गच्छदारले जिउँदै जलेर नागरिकको मृत्यु हुनु चरम राज्य विफलताको सङ्केत भएको उल्लेख गर्दै यसलाई सार्वभौम मुलुकको चीरहरणको संज्ञा दिइन्।

उनले सरकारलाई यस्तो घटना पुनः नदोहोरिने गरी आवश्यक कदम चाल्न आग्रह गर्दै मुगुका गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिन्।

  • २६ असार २०८३, शुक्रबार १६:०४ प्रकाशित