हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

केन्द्रभाग मिडिया

काठमाडौं।

स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ ।

यससँगै इरानले बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार गरेको देखिएको छ । पछिल्लो घटनाक्रमले युद्धविरामतर्फ अघि बढिरहेको प्रयासलाई गम्भीर धक्का पुर्‍याउँदै मध्यपूर्वलाई पुनः व्यापक द्वन्द्वतर्फ धकेल्ने जोखिम बढाएको छ ।

अमेरिकी सेनाले तेहरानले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित तीन व्यापारिक जहाजलाई लक्षित बनाएपछि जवाफी कारबाही गरिएको जनाएको छ । आक्रमणसँगै वासिङ्टनले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई खुला रूपमा कच्चा तेल बिक्री गर्न दिइएको अनुमति पनि रद्द गरेको छ । इरानले भने अमेरिकाको कदमको कडा विरोध गर्दै आफूले आवश्यक ठानेका सबै उपाय अपनाउने चेतावनी दिएको छ ।

अमेरिकी आक्रमणपछि अमेरिकी नौसेनाको पाँचौँ फ्लीट रहेको बहराइन तथा अमेरिकी सेनाका महत्त्वपूर्ण सैन्य आधार रहेका कुवेतमा मिसाइल चेतावनी जारी गरिएको थियो । दुवै देशलाई लक्षित गरी इरानबाट प्रहार भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

यो घटनाक्रम इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि चलिरहेका बेला भएको हो । फेब्रुअरी २८ मा ८६ वर्षको उमेरमा युद्धको प्रारम्भिक चरणमै मारिएका खामेनीको अन्तिम संस्कार बिहीबार सम्पन्न हुने तालिका छ । अन्त्येष्टिपछि हर्मुज जलघाँटी पूर्ण रूपमा पुनः सञ्चालन गर्ने र इरानको विवादित आणविक कार्यक्रमबारे वार्ता अघि बढ्ने अपेक्षा गरिएको थियो । तर पछिल्ला आक्रमणले त्यस्तो सम्भावनामा अनिश्चितता थपेको छ ।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र उसका सहयोगीमाथि आक्रामक टिप्पणी गर्दै इरान कुनै दबाबमा नझुक्ने बताएका छन् ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार आक्रमणमा इरानका हवाई रक्षा प्रणाली, राडार र अर्धसैनिक इस्लामिक क्रान्तिकारी गार्डले प्रयोग गर्ने ६० भन्दा बढी तीव्र गतिको साना डुङ्गा निशाना बनाइएका छन् । ती डुङ्गा हर्मुज जलघाँटीमा व्यापारिक जहाजलाई रोक्ने तथा दबाब सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको अमेरिकी दाबी छ ।

सेन्ट्रल कमान्डले यो चरणको कारबाही सम्पन्न भएको जनाउँदै आवश्यक परे थप कदम चाल्न अमेरिका तयार रहेको स्पष्ट पारेको छ ।

इरानले अमेरिकी आक्रमण भएको स्वीकार गरे पनि क्षतिको विवरण सार्वजनिक गरेको छैन । सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केशम र सिरिक क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् । इरानको केन्द्रीय सैन्य कमान्डले अमेरिकी कारबाहीलाई आतङ्कवादी कार्यको संज्ञा दिँदै निर्णायक जवाफ दिने चेतावनी दिएको छ । साथै हर्मुज जलघाँटीको व्यवस्थापनमा कुनै विदेशी हस्तक्षेप स्वीकार नगर्ने अडान दोहोर्‍याएको छ । रासस

  • २४ असार २०८३, बुधबार १४:२९ प्रकाशित