अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान नगरे अर्थतन्त्रले सही दिशा लिन सक्दैन : पूर्वगभर्नर नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले मौद्रिक नीति नितान्त प्राविधिक विषय भएको बताउँदै यसलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रीय बैंकको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान नगरे अर्थतन्त्रले सही दिशा लिन नसक्ने चेतावनी दिए।

डा।नेपालले मौद्रिक नीतिजस्तो अत्यन्तै प्राविधिक विषयमा संसदमा बोलाएर छलफल गर्ने अभ्यास संसारमा सम्भवतः नेपालमा मात्रै रहेको टिप्पणी गरे। उनले भने, ‘मौद्रिक नीति संसारभर केन्द्रीय बैंकले स्वतन्त्र रूपमा निर्माण गर्छ। यसको मुख्य उद्देश्य मुद्रास्फीति नियन्त्रण गर्ने र सरकारले ल्याएको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्‍याउने मात्र हो।’

नेपालको अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा करिब ४१ प्रतिशत रहेको उल्लेख गर्दै डा।नेपालले यसले मौद्रिक नीतिको प्रभावकारितामा चुनौती थपेको बताए। ‘हाम्रो ४० प्रतिशतभन्दा बढी अर्थतन्त्र अनौपचारिक छ, जहाँबाट ठुलो लिकेज भइरहेको छ,’ उनले भने

उनले विगतमा १८–२० प्रतिशतसम्म कर्जा विस्तार हुँदा पनि आर्थिक वृद्धि ६–७ प्रतिशतमा सीमित भएको र अहिले ५–६ प्रतिशत कर्जा विस्तार हुँदा पनि ४–५ प्रतिशतको वृद्धि हुने देखिएको बताए । यसले कर्जाको सदुपयोगितामा प्रश्न उठाएको उनको तर्क छ।

विगत साढे तीन–चार वर्षदेखि नेपालमा ‘लुज’ (खुकुलो) मौद्रिक नीति अवलम्बन गरिएको बताउँदै उनले अब यसलाई थप खुकुलो बनाउने ठाउँ नरहेको सङ्केत गरे । ब्याजदर इतिहासकै न्यून बिन्दुमा पुग्दा पनि लगानी बढ्न नसक्नुमा अन्य संरचनागत कारणहरू रहेको उनको ठम्याइ छ।

डा।नेपालले भने, ‘अहिले नेपालमा ब्याजदर धेरै तल छ, जबकि भारतमा ब्याजदर बढेको छ। यस्तो अवस्थामा नेपालबाट भारततिर पुँजी पलायन हुने र हुन्डी फस्टाउने जोखिम रहन्छ। तराईका क्षेत्रमा यो समस्या अहिले नै देखिन थालिसकेको छ।’

  • २१ असार २०८३, आईतवार १४:३३ प्रकाशित