पोखरा ।
श्रमिक शिक्षा सम्बन्धी रोजगारदातामाझ आयोजित चेतनामूलक कार्यक्रममा श्रमिक राख्दा अनिवार्य रूपमा लिखित श्रम सम्झौता गर्नुपर्नेमा जोड दिइएको छ।
श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना तथा पृथ्वी होटल व्यवसायी समितिको समन्वयमा शनिवार सम्पन्न कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख चण्डिका पौडेलले नेपालको संविधानले श्रम र रोजगारीलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरे । उनले कानुनको अज्ञानता कुनै बहाना बन्न नसक्ने बताए।
उनले रोजगारदाताले श्रमिक नियुक्त गर्दा लिखित श्रम सम्झौता गर्नुपर्ने, श्रमिकका सेवा–सुविधा तथा अधिकार कानुनअनुसार सुनिश्चित गर्नुपर्ने र श्रम ऐनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।
श्रमसम्बन्धी कानुनी व्यवस्था व्यवहारमा कार्यान्वयन भए मात्र श्रमिक र रोजगारदाता दुवै पक्षबीच विश्वास, पारदर्शिता र औद्योगिक सम्बन्ध सुदृढ हुने उनको भनाइ थियो ।
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष मोति प्रसाद श्रेष्ठले कार्यक्रम होटल व्यवसायीका लागि अत्यन्त उपयोगी भएको बताए ।
यस्ता कार्यक्रमले व्यवसायी र होटलमा कार्यरत श्रमिक दुवैलाई श्रम ऐन, श्रमिक अधिकार, रोजगारदाताको दायित्व तथा कानुनी व्यवस्थाबारे स्पष्ट जानकारी प्राप्त गर्ने अवसर मिलेको उनले बताए ।
श्रेष्ठले श्रमसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनले व्यवसाय सञ्चालनलाई थप व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा कारखाना निरीक्षक ईश्वरमणि भण्डारीले श्रम ऐनको कार्यान्वयन, रोजगारदाताले पालना गर्नुपर्ने कानुनी प्रक्रिया तथा कार्यस्थलमा श्रमिकका अधिकारका विषयमा जानकारी गराएका थिए । समितिका पूर्वअध्यक्ष अम्बिका घिमिरेले पनि कार्यक्रमको महत्वबारे धारणा राखेका थिए।
कार्यालयका नायब सुब्बा जीवाखर शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए । कारखाना निरीक्षक ईश्वरमणि भण्डारीले स्वगत गरेको उक्त कार्यक्रममा श्रम ऐनको प्रभावकारी कार्यान्वयनमार्फत स्वस्थ श्रम सम्बन्ध स्थापना गर्न यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।












