पोखरा ।
पोखरा महानगरपालिकाको नगर युवा परिषदले उत्कृष्ट युवा पुरस्कारबाट ६ युवालाई पुरस्कृत गरेको छ ।
नगर युवा परिषद्ले युवा उद्यमशीलता, सीप विकास, सशक्तीकरण तथा विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ६ जना युवालाई नगदसहित अवार्ड प्रदान गर्दै पुरस्कृत गरेको हो ।
पोखरा युथ फेस्टिभलमा मेयर धनराज आचार्यले ६ युवालाई जनही २५ हजार रुपैयाँ राशिसहित अवार्ड प्रदान प्रदान गरेका हुन् ।
यसवर्ष पत्रकारिता क्षेत्रबाट दुर्गा रानामगर, पर्यटनबाट प्रतीक पहारी, समाज सेवाबाट सदिस पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारीबाट नवज्योति सुवेदी, खेलकुदबाट नारायणी भण्डारी तथा अपाङ्गता सशक्तीकरण क्षेत्रमा क्रियाशील सन्ध्या सुवेदीले पुरस्कार प्राप्त गरेका छन् ।
मेयर आचार्यले सम्बन्धित क्षेत्रका उत्कृष्ट काम गरिरहेकाहरुको सम्मान, युवाहरुलाई प्रोत्साहन र सकारात्मक सन्देश दिने काम पुरस्कारले गरिरहेको बताए । मेयर आचार्यले युवा छनोटमा नेतृत्वका हिसाबले उत्कृष्ट पात्र छनोटमा ध्यान दिन आग्रह गर्दै निष्पक्षतामा जोड दिइएको बताए ।
नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले आ(आफ्नो क्षेत्रमा उत्कृष्ट कर्म गरिरहेका ३५ वर्षमुनिका युवाहरुलाई छनोट समितिको सिफारिसका आधारमा पुरस्कृत गरेर हौसला बढाइएको बताए ।
युवाहरूको सिर्जनशीलता, नेतृत्व, उद्यमशीलता र सामाजिक योगदानलाई संस्थागत रूपमा सम्मान गर्दै अन्य युवालाई पनि प्रेरित गर्ने उद्देश्यले यो अवार्ड सुरु गरिएको उनको भनाइ छ ।
युथ फेस्टिभलमा पर्यटन अध्येता दीपेन्द्र पहारीले पोखराको पर्यटन सम्भावना र भविष्यका अवसरबारे चर्चा गरेका थिए ।पोखरामा उद्यमशीलता र अवसर’का विषयमा एउटा सत्रमा छलफलसमेत भएको छ ।
बाराही हस्पिटालिटीका निर्देशक वैभव पौडेल, स्थानीय परिकार सातुको व्यवसायीकरण गरिरहेका पृथ्वीकल्याण पराजुली तथा महिला सीप विकास पोखराकी उद्यमी रामकला खड्काले आफ्ना अनुभव साटेका थिए ।











