काठमाडौं ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो कार्यप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संगठनात्मक पुनर्संरचनाको गृहकार्य अघि बढाएको छ।
मन्त्रालयको दैनिक प्रशासनिक काम र निर्णय प्रक्रियालाई छरितो बनाउने उद्देश्यले यो कदम चाल्न लागिएको हो।यस नयाँ योजनाअन्तर्गत मन्त्रालयले हाल कायम रहेका ५ वटा महाशाखालाई परिमार्जन गरी कार्यप्रकृतिका आधारमा ३ वटा मात्र कायम गर्ने लक्ष्य राखेको छ। मन्त्रालयले कार्यप्रकृतिका आधारमा मिल्दाजुल्दा विभागहरूलाई एकापसमा गाभेर एकीकृत गर्ने तयारी समेत गरेको छ।
यसका साथै स्वास्थ्य क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न र डिजिटल प्रणालीको विकास गर्नका लागि एउटा नयाँ सूचना प्रविधि विभाग स्थापना गर्ने मन्त्रालयको तयारी छ। यो नयाँ विभागले देशभरिको स्वास्थ्य तथ्याङ्क व्यवस्थापन र प्रविधिमैत्री सेवामा सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
लामो समयदेखि मन्त्रालयस्तरमा अनावश्यक रूपमा केन्द्रित रहेका र कार्यसम्पादनमा दोहोरोपन देखिएका करिब ३० प्रतिशत दरबन्दीहरूलाई पनि यो पुनर्संरचनाले सम्बोधन गर्नेछ। मन्त्रालयले ती दरबन्दीहरूलाई केन्द्रबाट हटाएर आफ्नै मातहतका अन्य तल्लो तहका संरचनाहरूमा समायोजन गर्ने दिशामा काम अघि बढाएको छ।
यो व्यवस्थापनबाट मन्त्रालयको प्रशासनिक सञ्चालन खर्चमा उल्लेख्य कटौती हुने र तल्लो तहको सेवा प्रवाह थप मजबुत बन्ने स्वास्थ्य मन्त्रालयको विश्वास छ।












