पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजना अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा अनुगमन सम्पन्न भएको हो ।
समितिले पाँच करोडको लागतमा निर्माणाधीन पोखरा ३३ स्थित तल्लो खैरेनी, घोक्रेनी ,शिवबस्ती हुँदै गाई गौडा सम्मको वहुवर्षीय सडक आयोजना र पोखरा ३१ स्थित २५ करोडको लागतमा निर्माणाधिन स्याङ्खुदी भञ्ज्याङ् सम्मको सात ताल जोड्ने सडक अनुगमन गरेको हो ।
अनुगमनका क्रममा जिसस प्रमुख पौडेलले गुणस्तर र निर्धारित मापदण्डको पूर्ण पालना गर्दै दिगो विकास योजनालाई प्राथमिकता दिन आग्रह गरे ।विकासमा हुने अनियमिततामा शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने बताउँदै स्थानीय उपभोक्ता र सरोकारवालालाई समेत सचेत हुन आग्रह गरे।
अनुगमनमा जिसस कास्कीका सदस्य सीता देवी वि.क ,हर्क गुरुङ, राजु अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत लक्षु शर्मा, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य, प्राविधिक इन्जिनियर एवम् स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।












