काठमाडौं।
काठमाडौँबाट चीनको सीमानामा घुम्न गएका दुई जना युवालाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।
असार ११ मा काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगर चीनसँग सीमा जोडिएको लप्ची तर्फ लागेका थिए। काठमाडौँबाट दोलखाका बिगु गाउँपालिका वडा नम्बर–१ हुँदै उनीहरू लप्ची पुगेका हुन् ।
सीमानामा ड्रोन उडाएको आरोपमा उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको सूचना आएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिएको बताइएको छ ।
असार १२ मा सीमाना हेर्ने चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएर उनीहरूलाई स्थानीय चिनियाँ प्रहरीलाई जिम्मा लगाएको सुरक्षा स्रोतको भनाइ छ।
अहिले उनीहरूलाई न्यालम काउन्टीमा राखिएको छ । न्यालम काउन्टी सिन्धुपाल्चोकको सीमाबाट नजिक पर्ने हुनाले नेपालको अध्यागमन कार्यालय र सुरक्षा निकायले चिनियाँ काउन्टर पार्टस्सँग समन्वय गरिरहेका छन् ।











