काठमाडौं ।
नेपालमा शृङ्गार सामान आयात वृद्धि भएको छ । चालु आर्थिक वर्ष ११ महिना (साउनदेखि जेठ) सम्म नेपालमा सौन्दर्य प्रसाधन (कस्मेटिक) समान आयात गत वर्षको तुलनामा उल्लेख्य बढेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार लिप मेकअपदेखि कपालमा प्रयोग हुने विभिन्न स्याहार सामग्री आयातमा मात्रै यस अवधिमा करिब १२ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ बाहिरिएको छ ।
गत आव २०८१/८२ को ११ महिना अवधिमा यी सामग्रीको कुल आयात करिब ११ अर्ब २८ करोड २७ लाख बराबर थियो ।‘लिप मेकअप’ (लिपस्टिक लगायत)सामग्री आयातमा भारी वृद्धि भएको छ । गत वर्ष ११ महिनामा ५९ करोड ३७ लाख रुपैयाँ बराबरको लिप मेकअप आयात भएकोमा चालु आव सोही अवधिमा बढेर ७१ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी अनुहारमा लगाउने फेस क्रिम आयात पनि ह्वात्तै बढेको छ । गत वर्ष १ अर्ब १६ करोड ४७ लाख रुपैयाँको फेस क्रिम आयात भएकोमा यस वर्ष बढेर १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
बडी लोसन आयात पनि ६६ करोड ३ लाखबाट बढेर ७२ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।आँखाको मेकअप सामान आयात भने २७ करोड २९ लाखबाट सामान्य बढेर २७ करोड ४२ लाख पुगेको छ ।
त्यस्तै हातखुट्टा र नङ स्याहारमा प्रयोग हुने सामग्री आयातमा पनि वृद्धि देखिएको छ । नेल पोलिस आयात गत वर्षको ५ करोड २३ लाखबाट बढेर ५ करोड ८८ लाख पुगेको छ भने अन्य मेनिक्योर र पेडिक्योर सामग्री आयात १ करोड ४८ लाखबाट अस्वाभाविक बढेर ५ करोड २९ लाख पुगेको छ ।
जाडोमा छाला सुरक्षाका लागि प्रयोग हुने पेट्रोलियम जेली आयात पनि २ करोड ८७ लाखबाट बढेर ७ करोड ४८ लाख पुगेको छ । आधुनिक शृङ्गार साधन आयात बढ्दा परम्परागत शृङ्गार सामग्री सिन्दुर आयात भने घटेको छ ।
गत वर्ष १ करोड ३५ लाख रुपैयाँको सिन्दूर आयात भएकोमा यस वर्ष घटेर १ करोड १४ लाखमा सीमित भएको छ ।कपाल स्याहार सम्बन्धी सामग्री आयातमा भने मिश्रित अवस्था देखिएको छ । कपाल धुने स्याम्पु आयात गत वर्ष १ अर्ब १७ करोड ११ लाख रहेकोमा यस वर्ष सामान्य घटेर १ अर्ब १३ करोड २३ लाख कायम भएको छ ।
कपालमा लगाउने हेयर कन्डिसनर र हेयर क्रिम आयात पनि घटेको छ । कन्डिसनर १३ करोड ७६ लाखबाट घटेर १२ करोड १३ लाख र हेयर क्रिम ६ करोड २ लाखबाट घटेर ४ करोड ३९ लाखको भित्रिएको छ ।
तर, कपालमा लगाउने तेल आयात भने ६० करोड १२ लाखबाट बढेर ६४ करोड ३४ लाख पुगेको छ । कपाल रङ्गाउने हेयर डाई आयात पनि ९६ करोड २४ लाखबाट बढेर १ अर्ब १ करोड २४ लाख पुगेको छ ।












