काठमाडौं ।
भक्तपुरमा मदिरा पिउने क्रममा ‘विवाद’ हुँदा एकजना युवकको हत्या भएको छ । असार ८ गते गएराति भक्तपुर नगरपालिका वडा नम्बर–१ मा महोत्तरी घर भएका आकाश रसाइलीको हत्या भएको प्रहरीले जानकारी दिएको छ । रसाइली गएराती स्थानीय होटलमा थिए । अर्को टेवलमा ३ जना युवाहरू मदिरा पिउँदै थिए ।
महोत्तरीको मिथिला नगरपालिका–९ घर भएर नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय रसाइली ट्याटु आर्टिष्ट हुन् । रसाइलीले अर्को टेवलकालाई सोधे, ‘ट्याटु हान्ने हो भनेर सोध्दा झापाको दमक नगरपालिका घर भएका २७ वर्षीय दोर्जे शेर्पाले निहुँ खोजेको र सोही विषयमा झगडा हुदाँ रसाइलीको हत्या हुन पुगेको प्रहरीले बताएको छ ।
झगडा हुँदा सल्लाघारीमा बस्ने दोर्जेले रसाइलीमाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताएका छन् । दुईजनाको बिचमा भनाभन भएपछि रसाइलीले फोन गरेर आफ्ना साथिहरु बोलाएको दोर्जे पक्षको आरोप छ । त्यसपछि होटल बाहिर निस्केर उनीहरूको बिचमा झगडा हुन थालेको थियो ।
दोर्जेसँग उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की र गुल्मीको तम्घास घर भएर सल्लााघारी बस्ने ३५ वर्षीय रमेश कुँवर सँगै थिए । दोर्जेले चक्कु प्रहार गर्दा अरु दुईजनाले उनलाई मद्दत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीको उपचारको क्रममा आज बिहान ६ बजेर १५ मिनेटमा ज्यान गएको छ । मृतकको शव सिनामंगल स्थित केएमसी अस्पतालमा रहेको भक्तपुरका एसपी सूर्य खड्काले बताए ।
हत्यामा संलग्न आरोपीहरू मजदुर रहेको खुल्न आएको छ । चक्कु प्रहारपछि भागेका उनीहरूलाई ‘सर्च अपरेशन’ सञ्चालन गरेर पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।
मृतक रसाइलीले बोलाएका युवाहरुबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।












