रास्वपाको महाधिवेशन दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)को प्रथम महाधिवेशन आज उद्घाटन हुँदै छ । चितवन स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चउरमा हुने उद्घाटनको सुरक्षा व्यवस्थापन चुस्त पारिएको सुरक्षा निकायहरुले जनाएका छन् ।

नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की महाधिवेशन स्थलको सुरक्षा व्यवस्थापनबारे बुझ्न चितवन पुगेका छन् । समग्र सुरक्षा व्यवस्थापनको मनिटरमा नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदी र सशस्त्रका एआईजी गणेश ठाडामगर खटिएका छन् ।

एआईजी उमा प्रसाद चतुर्वेदीले महाधिवेशन अवधिभर समग्र सुरक्षा व्यवस्थापनको मनिटर गर्ने प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘जिल्ला सुरक्षा समितिले तयार गरेको योजना मुताबिक प्रहरी परिचालन गरिएको छ ।’

महाधिवेशन स्थलको फिल्ड कमाण्ड चितवनका एसपी रामेश्वर पौडेलले गरेका छन् । बागमती प्रदेशका डीआईजी दीपक रेग्मी पनि चितवनमा खटिएका छन् । प्रहरी प्रधान कार्यालयले केन्द्रबाट पनि थप मद्दत पठाएको छ । डीआईजी काफ्ले भन्छन्, ‘एआईजी उमा चतुर्वेदीले ओभरअल मनिटर गर्नुहुन्छ ।’

भिडभाड र भीआईपीको आवागमन हेरेर आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले बताए ।सशस्त्र प्रहरी बलले नम्बर–३ गढीमाई बाहिनीका बाहिनीपती किरण बस्नेको कमाण्डमा टोली परिचालन गरेको छ । सशस्त्रका प्रवक्ता ९डीआईजी० नेत्र बहादुर कार्की भन्छन्, ‘एआईजी गणेश ठाडा मगर सा’वले समग्र सुरक्षा व्यवस्थापनको मनिटर गर्नुहुन्छ ।’

एआईजी गणेश ठाडा मगर चितवन गएका छन् । सशस्त्रले एउटा गण बराबरको सङ्ख्या महाधिवेशन स्थलमा परिचालन गरेको छ ।असार ९ सम्म चल्ने महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको हलमा हुनेछ । सुरक्षा निकायहरुले उद्घाटन र बन्दसत्र अवधिभरको सुरक्षा योजना बनाएर लागु गरेका छन् ।

  • ७ असार २०८३, आईतवार १३:०६ प्रकाशित