काठमाडौं ।
साउदी अरबको सिप परीक्षण कार्यक्रम स्थगित भएको छ।
वैदेशिक रोजगार व्यवसायीले साउदी अरबले नेपाल सरकारसँग पर्याप्त समन्वय नगरी काठमाडौंमा सञ्चालन गर्न लागेको श्रमिक सिप परीक्षण प्रमाणीकरण केन्द्रको विरोध गरेका छन् ।
साउदीले बुधबार काठमाडौं बसुन्धरास्थित केन्द्रबाट सामान्य श्रमिकका लागि सिप परीक्षण कार्यक्रम सुरु गर्ने तयारी गरेको थियो । उद्घाटन कार्यक्रम चलिरहेकै बेला व्यवसायीहरू केन्द्र पुगेर विरोध प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शन क्रममा उनीहरूले ‘सिप प्रमाणीकरण कार्यक्रम’ लेखिएको बोर्डसमेत हटाएका थिए । सयौँको संख्यामा उद्घाटन कार्यक्रमस्थल पुगेर व्यवसायीले नाराबाजी गर्दै विरोध प्रदर्शन समेत गरेका थिए ।
‘साउदीको सिन्डिकेट’ खारेज गर भन्दै नाराबाजी गर्नुका साथै उद्घाटन कार्यक्रमका लागि लगाइएको गेट तथा बोर्ड समेत व्यवसायीहरूले हटाएका थिए ।
उद्घाटन समारोहमा नेपालका लागि साउदीका राजदूत आउने कार्यक्रम थियो । तर, व्यवसायीहरूको विरोधपछि उनी कार्यक्रममा आउन सकेनन् ।
व्यवसायीले नेपाल–साउदी श्रम सम्झौताको मर्मविपरीत एकतर्फी लागु गर्न खोजिएको यो व्यवस्था स्वीकार्य नहुने बताएका छन् । उनीहरूले नेपाल सरकारसँग आवश्यक सहकार्य र सहमति नगरी सञ्चालन गर्न लागिएको सिप परीक्षण कार्यक्रम अघि बढ्न नदिने चेतावनी दिए ।
व्यवसायीको विरोधपछि साउदी उक्त निर्णय तत्काल कार्यान्वयनबाट पछि हटेको छ । इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपालले आजदेखि लागु हुने एसभीपी कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ ।












