सेफ सन्तोष साह हाजिर जमानीमा छुटे

केन्द्रभाग मिडिया

काठमाडौं।

सेफ सन्तोष साह हिरासत मुक्त भएका छन् ।

ठगी सम्बन्धी कसुरमा बिगो रकम पीडितको खातामा डिपोजिट गरेपछि उनलाई हाजिर जमानीमा थुनमुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । जेठ ३ मा पक्राउ परेका साहमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट ३ दिनको म्याद लिएको थियो ।

साहले ४ लाख ५० हजार बिगो रकम पीडितको खातामा जम्मा गरेका हुन् । साहसँगै उनका दाजु ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका थिए । आर्जव होल्डिङ प्रालिलाई उनले दिएको २५ लाखको चेक नसाटिएको बैंकिङ कसुरको मुद्दा फैसला भएको र अदालतमा उपस्थित हुने म्याद बाँकी नै रहेको देखिएको हुनाले सो प्रकरणमा अहिले केही नभएको एसपी भट्टराईले बताए ।

बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले बिगो भराएर १ महिना कैद सजाय हुने फैसला गरेको थियो । सो फैसला उपर पुनरावेदन पनि गर्न सकिने कानुनी व्यवस्था छ । आर्जव होल्डिङ प्रालिले नक्सालमा शिला रेस्टुरेन्ट सञ्चालन गरेको थियो । नक्साल स्थित गैरीधारामा रहेको सो रेस्टुरेन्ट मिथिला थाली प्रालिले खरिद गरेको थियो । रेस्टुरेन्ट खरिद गर्दा साहले दिएको चेक बाउन्स भएको हो ।

सिरहाको कर्जन्हा नगरपालिका–९ घर भएर काठमाडौँ बस्ने ४० वर्षीय सन्तोषले मिथिला थाली नामको चेक रेस्टुरेन्ट सञ्चालन गरेका छन् । साह २०२० को बीबीसी मास्टर सेफमा सहभागी भएपछि चर्चामा आएका हुन् ।

  • २ असार २०८३, मंगलवार १३:२० प्रकाशित