पोखरा खेलकुद महोत्सव : अन्तरविद्यालय जुडो प्रतियोगिता सम्पन्न, ७५ खेलाडी सहभागी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत अन्तरविद्यालय जुडो प्रतियोगिता सम्पन्न भएको छ ।

छात्र तथा छात्रा गरी दुई विधामा विभिन्न तौल समुहमा भएको उक्त प्रतियोगितामा ७५ जनाले सहभागिता जनाएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा पोखरा महानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए ।

उनका अनुसार छात्र तर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी तौल समूहमा प्रतिष्पर्धा भएको थियो । जस अनुसार २५ केजी छात्रमा सौरभ जिसी प्रथम, विकल नेपाली द्वितीय र आरोन गुरुङ तथा सविन नेपाली तृतीय स्थान हासिल गरे ।

३० केजी छात्रमा महेश बिक प्रथम, निसान मगर द्वितीय र सुनिल कुँवर तथा प्रिन्स शाह तृतीय भएका थिए । ३५ केजी छात्रमा निसान नेपाली प्रथम, आयान कुँवर द्वितीय र राजकुमार गिरी तथा प्रिन्स आले मगर तृतीय हुन सफल भए । ४० केजी छात्रमा रितेश केसी प्रथम, अञ्जन परियार द्वितीय र प्रियान्स गुरुङ तथा रूपक परियार तृतीय भए । ४५ केजी छात्रमा बिप्लप बूढा मगर प्रथम ढोलक विक्रम केसी द्वितीय र सुयोग जलन्धर तथा आशिष बिक तृतीय भएका थिए ।

यसैगरी छात्रा ३५ केजी, ४५ केजी र ५० केजी तौल समूहमा प्रतिष्पर्धा भएको थियो । जसमा ३५ केजी छात्रामा मनिषा नेपाली प्रथम, सन्ध्या परियार द्वितीय र निसा नेपाली तथा सङ्गीता लुँइटेल तृतीय भए । ४५ केजी छात्रामा जमुना श्रेष्ठ प्रथम, क्रिन्जल गिरी द्वितीय र विष्णु बूढा मगर तथा सुष्मा मगर तृतीय भए ।

५० केजी छात्रामा स्यान्टोप जलारी प्रथम, योगिसा परियार द्वितीय र सुरक्षा परियार तथा गङ्गा श्रेष्ठ तृतीय भए । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीले नगद ३ हजार, २ हजार र १ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए । विजेता खेलाडीहरूलाई बधाई दिँदै खेलकुद विकास समितिले खेल क्षेत्रको विकास तथा युवा प्रतिभाको प्रोत्साहनका लागि यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गरिने जनाएको छ।

महोत्सवमा कुल ११ वटा खेल समावेश गरिएको छ । तीमध्ये दुई वटा राष्ट्रियस्तरका प्रतियोगिता रहेका छन् भने पाँच वटा खेल ग्रासरुट तहका खेलाडीलाई लक्षित गरी सञ्चालन गरिएका छन् । यसका साथै ह्विलचियर बास्केटबल, बौद्धिक अपाङ्गता दौड, बोसिया तथा दृष्टिविहीन क्रिकेटजस्ता समावेशी खेलहरू पनि महोत्सवमा समेटिएका छन् । महोत्सव असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

  • १ असार २०८३, सोमबार १६:३३ प्रकाशित