पोखरा ।
पोखरामा हिजो आइतबार साँझ भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ ।
पोखराको सिर्जनाचोक र सभागृहचोकको बीचमा बा प्र ०३–००१ क १६५० नम्बरको रेडी मिक्स्चर (ब्लकर) ले मोटरसाइकललाई ठक्कर दिदाँ नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य ३२ वर्षीय राजीव बाँस्तोलाको निधन भएको हो । कास्की जिल्ला सहकारी संघको तालिमबाट घर फर्किने क्रममा साढे ५ बजेतिर दुर्घटना भएको हो ।
मिक्स्चरले पछाडिबाट ठक्कर दिएपछि सडकमा लडेका बाँस्तोलालाई तत्काल नजिकैको मेट्रोसिटी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई अस्पताल पुर्याउनासाथ मृत घोषणा गरेका हुन् ।
बाँस्तोला नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य एवं कास्की क्षेत्र नम्बर ३ का नेता खिमलाल बाँस्तोलाका छोरा हुन् ।













