राप्रपाको देखाउने र चपाउने दाँत फरक छ : धवलशमशेर राणा

केन्द्रभाग मिडिया

काठमाडौं।

राप्रपाबाट छुट्टिएर नयाँ पार्टी घोषणा गर्ने गृहकार्यमा लागेका पूर्वसांसद नेता डा.धवलशमशेर राणाले राप्रपाको देखाउने र चपाउने दाँत फरक फरक रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै राणाले आगामी दिनमा मजबुत राष्ट्रवादी शक्ति निर्माण गर्न लागिरहेको बताए ।

उनले नयाँ पार्टी २र३ महिनामै मजबुत पार्टीका रूपमा अघि बढ्ने भन्दै राजासहितको प्रजातन्त्र बोक्ने पार्टी अहिलेको राजनीतिमा विकल्प दिने पार्टी बन्ने बताए । ‘मजबुत राष्ट्रवादी शक्तिको खाँचोलाई परिपूर्ति गर्न राप्रपाले सकेन’, राणाले भने– ‘यो कुरा गएका निर्वाचनले प्रस्ट पारिसकेको छ ।’

राप्रपाले बोकेको मूल्य र मान्यता सनातनी हिन्दु अधिराज्यको एजेन्डा जनताले नभई राप्रपाले तिरस्कृत गरेको बताए । ‘हाम्रो एजेन्डा जनताले होइन, राप्रपाले तिरस्कृत गरेको हो’, उनले भने, ‘गणतन्त्रलाई प्रयोग गरेर हामीले बोकेको मान्यता स्थापित गर्ने भनिएको हो तर सभामुख खाएर एजेन्डाप्रति गद्दारी गरियो ।’

गणतन्त्रलाई नियमन र सबलीकरण गर्ने सभामुख जस्तो पद नै राप्रपाले खाइदिएपछि राप्रपाको खाने र देखाउने दाँत फरक फरक हो भनेर पुष्टि भएको उनले बताए । गएको चुनावमा राप्रपाका उम्मेदवारको ९७ प्रतिशत जमानत जफत गराइदिएबाटै राप्रपाप्रति जनताको दृष्टिकोण परिवर्तन भएकाले आफूहरूले अलग पार्टी गठन गर्नुपर्ने अवस्था आएको बताए ।

नयाँ पार्टीमा कुनै भेदभाव र पक्षपातपूर्ण व्यवहार नगरिने भन्दै कतिपयले दुर्गा प्रसाई सँगको सहकार्य र मिलान देश चलाउने र राजसंस्था स्थापित गर्दासम्म रहने राणाको दाबी छ । उनले पार्टी नाम, झन्डा र चुनाव चिह्न चाँडै सार्वजनिक गरिने समेत बताए ।

  • ३१ जेष्ठ २०८३, आईतवार १४:२२ प्रकाशित