काठमाडौं।
परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन्।भारतीय विदेशमन्त्री डा.एस. जयशङ्करको निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारले स्वागत गरे। अतिरिक्त सचिव महावारले भारतको विदेश मन्त्रालयमा नेपाल र भुटान डेस्क हेर्ने गर्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेपछि यो पहिलो उच्च स्तरीय वैदेशिक भ्रमण हो। नयाँ दिल्ली प्रस्थान गर्नुअघि काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले रास्वपाको सरकार बनेपछिको यो पहिलो उच्च स्तरीय भ्रमण भएको र यस क्रममा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल हुने बताएका थिए।
यसैबिच मन्त्री खनालको स्वागत गर्दै भारतको विदेश मन्त्रालयले लेखेको छ, ‘नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई उनको पहिलो औपचारिक भारत भ्रमणका लागि हार्दिक स्वागत छ। नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिँदै यस भ्रमणले भारत र नेपालबिचको विशेष साझेदारीलाई अझ सुदृढ बनाउन मद्दत गर्नेछ।’
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना भारतीय समकक्षी डा। जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्। सो अवसरमा दुई देशका विदेशमन्त्रीबिच नेपाल र भारतको आपसी हितका विविध विषयमा गहन छलफल हुनेछ।
विशेष गरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य तथा दुई देशका जनताबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर दुई पक्षबिच वार्ता हुने जनाइएको छ। परराष्ट्रमन्त्री खनाल आफ्ना सबै औपचारिक कार्यक्रमहरू पूरा गरी आउँदो जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ।












