मिस नेपाल २०२६ का लागि आवेदन खुला

केन्द्रभाग मिडिया

पोखरा ।
द हिडन ट्रेजरले बहुप्रतीक्षित मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ।

आयोजक द हिडन ट्रेजरले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मिस नेपालमा सहभागी हुन चाहनेले यही जेठ २५ गते सम्म आवेदन दिन सक्ने जानकारी दिएको छ ।

आयोजकको अनुसार मिस नेपाल २०२६ को ग्रान्ड फिनाले यही वर्ष श्रावण १६ गते शनिबार (२०२६ अगस्ट ०१) पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ । ग्रान्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ। यस कार्यक्रमले सौन्दर्य, प्रतिभा र गरिमाको अद्भुत प्रस्तुति दिने आयोजकको भनाई छ।

मिस नेपाल २०२६ का लागि योग्यता मापदण्ड अनुसार सहभागीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्ने आयोजकले जनाएको छ। आवेदकसँग नेपाली नागरिकता हुनुपर्ने र विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डका साथ आवेदन दिन सक्ने बताइएको छ । दर्ता निःशुल्क छ ।

यस वर्षको प्रतियोगिताबाट ३ जना विजेताहरू घोषणा गरिने आयोजकले जानकारी दिएको छ । मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल विद्यामा विजेता घोषित हुने भएका हुन् ।
अर्को मिस नेपालको खोजीका लागि देशका विभिन्न सहरहरू बिर्तामोड, इटहरी, बुटवल, पोखरा, नेपालगन्ज र जनकपुरमा सञ्चालन गरिने आयोजकले जनाएको छ। साथै, यस अवधिमा काठमाडौंका १० कलेजहरूमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिने भएको छ।

अन्तिम अडिसन जेष्ठ २६, २०८३ (२०२६ जुन ९) मा काठमाडौंमा आयोजना हुने आयोजकले बताएको छ। छनोट भएका प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन् ।

थप जानकारीका लागि वा मिस नेपाल २०२६ को आवेदन दिनको लागि www.missnepal.com.np वा Miss Nepal मोबाइल एपमा लग इन गर्नुपर्नेछ ।

  • १८ जेष्ठ २०८३, सोमबार १७:२८ प्रकाशित