सुनसरी ।
श्रम संस्कृति पार्टीले २०८४ मा हुने स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा धनबहादुर राईलाई उठाउने घोषणा गरेको छ । बिहीबार श्रम संस्कृतिले राईलाई मेयरमा अघि सार्ने घोषणा गरोके हो ।
राई धरान उपमहानरपालिका–४ का पूर्ववडाध्यक्ष हुन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले सुरुदेखि नै स्वतन्त्रबाट मेयरमा निर्वाचित हर्कराज राई(साम्पाङ)लाई सघाउँदै आएका थिए । उनी धरानमा साम्पाङलाई साथ दिने एक्ला वडाध्यक्ष मानिन्थे ।
यस्तै सम्पाङको श्रम अभियानमा पनि जोडिँदैआएका थिए । त्यसपछि एमालेले उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो । एमालेले कारबाही गरेलगत्तै उनले वडाध्यक्ष पदबाट पनि राजीनामा दिएका थिए । साम्पाङले श्रम संस्कृति पार्टी खोलेपछि गत फागुन १६ गते उनी पार्टीमा प्रवेश गरेका थिए ।
पार्टीले आफूले प्रस्तावित मेयरमा घोषणा गरेपछि राईले साम्पाङलाई धन्यवाद दिए ।श्रम संस्कृति पार्टीबाट धरानमा मेयरमा राईसहित दिनेश राई, निनाचन्द्र राई, सुमन श्रेष्ठ पनि आकांक्षी थिए ।


















